कर्णालीका ७३ प्रतिशत जनसङ्ख्यामा अझै पुगेन विद्युत्

  २०७६ जेठ १३ गते १७:१०     विकासन्युज

काठमाडौँ । कर्णाली प्रदेशका ७३ प्रतिशत जनसङ्ख्याले अझै पनि विद्युत् सेवा प्राप्त गर्न सकेका छैनन् । जलविद्युतको अपार सम्भावना भए पनि सो प्रदेशका नागरिकले सहजरूपमा विद्युत् सेवा पाउन नसकेको पाइएको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण अनुसार गत फागुनसम्म कर्णाली प्रदेशका २७ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् पहुँच पुगेको पाइएको हो ।

मुलुकको कूल जनसङ्ख्या मध्ये ७७ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । अझै २२ दशमलव दुई प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुग्न नसकेको पाइएको छ । सबैभन्दा बढी विद्युत् सेवा उपभोग गर्ने प्रदेश नं ३ शीर्ष स्थानमा रहेको छ । यस प्रदेशका ९० प्रतिशत बढी जनसङ्ख्याले विद्युत् सेवा प्राप्त गरेका छन् । यस्तै प्रदेश नं १ मा ७५ दशमलव ९०, प्रदेश नं ३ मा ७९.७७, गण्डकी प्रदेशमा ८७.३९, प्रदेश नं ५ मा ८१.०३ र सुदूरपश्चिम प्रदेशमा ५८.९० प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् सेवा पुगेको पाइएको छ । यसरी हेर्दा विद्युत् सेवाको उपलब्धतामा कर्णाली र सुदूरपश्चिम प्रदेश नै पछाडि रहेको पाइएको छ ।

कर्णाली प्रदेशका छ नगरपालिका र ३७ गाँउपालिका तथा सुदूरुपश्चिम प्रदेशका चार नगरपालिका र ११ गाँउपालिकामा विद्युतको पहुँच पुग्न नसकेको हो । दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म सबैका लागि ऊर्जाको पहुँच पु¥याउन यस क्षेत्रमा थप लगानी गर्नुपर्ने देखिएको छ ।

चालु आवको फागुन मसान्तसम्म एक हजार १४२ मेगावाट विद्युत् उत्पादन भएको छ । सोही अवधिमा तीन हजार ९०८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको छ भने एक लाख ४४ हजार किलोमिटर वितरण लाइन निर्माण भएको छ । हालसम्म विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ४२ लाख ८४ हजार पुगेको छ ।

आर्थिक सर्वेक्षण अनुसार एक हजार २९ मेगावाट विद्युत् विद्युतत्बाट उत्पादन भएको छ । यस्तै थर्मल प्लान्टबाट ५३ मेगावाट, सौर्य ऊर्जाबाट २७ मेगावाट तथा लघु तथा साना आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन भएको छ । त्यसमा नेपाल विद्युत् प्राधिकरणको मात्रै ५६१ मेगावाट र निजी क्षेत्रले ५२२ र वैकल्पिक ऊर्जाबाट ५९ मेगावाट बराबरको विद्युत् राष्ट्रिय ग्रीडमा जोडिएको छ ।

चालु आवको फागुन मसान्तसम्म भारतबाट एक हजार ८३४ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएको छ । आव २०७४/७५ मा भारतबाट दुई हजार ५८१ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएको थियो । विद्युत् उत्पादनको आधारमा गण्डकी प्रदेश शीर्ष स्थानमा रहेको छ । आव २०७४/७५ को असार मसान्तसम्म सो प्रदेशमा मात्रै ४८१ मेगावाट विद्युत् उत्पादन भएको थियो । यस्तै प्रदेश नं २ मा हालसम्म कुनैपनि विद्युत् आयोजना सञ्चालनमा आएको छैन । आगामी दिनमा भने सो प्रदेशमा २०० मोगावाट क्षमताको सौर्य परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

ऊर्जा क्षेत्रको विकासका लागि सरकारले विसं २०७५ देखि २०८५ लाई ऊर्जा तथा जलस्रोत दशक घोषणा गरेको छ । यस्तै आर्थिक सर्वेक्षणले चालु आवको अन्त्यसम्म २५६ मेगावाट क्षमताका २० आयोजना सम्पन्न हुने उल्लेख गरेको छ । यस्तै आव २०७६र७७ मा भने ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजना सम्पन्न भई कूल एक हजार २६४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप हुनेछ ।

यस्तै चालु आवको फागुन मसान्तसम्म कूल २९ हजार ५७८ मेगावाट क्षमताका जलविद्युत् आयोजनाका लागि विभिन्न प्रकारका अनुमति जारी गरिएको छ । प्राधिकरण र निजी क्षेत्रले १८ हजार १९४ मेगावाट क्षमता बराबरका २८४ र १७ साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.