अर्थमन्त्रीले प्रस्तुत गरे आर्थिक सर्वेक्षण, आर्थिक बृद्धिदर ७ प्रतिशत

  २०७६ जेठ १३ गते १२:३४     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर ७ प्रतिशत रहने बताएका छन् । सोमबार संघीय संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०७५/०७६ आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा दोहोर्याएका हुन् ।

आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासका सूचकहरु उत्साहजनक ढंगले बढेको बताए । चालु आर्थिक वर्षको फागुनसम्म प्रतिव्यक्ति आय बृद्धि भएको उल्लेख गरे । उनले चालु आव २०७५/७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने र खर्च योग्य आय १ लाख ५५ हजार पुग्ने अनुमान गरे ।

चालु आवमा कूल लगानी गत आवभन्दा २९ प्रतिशतले बृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अर्थमन्त्री खतिवडाले बताए । चालु आवको फागुनसम्म सरकारी खर्च २.२ प्रतिशतले बृद्धि भएको र पूँजीगत खर्च भने बृद्धि हुन नसकेको उनले बताए । बैदेशिक अनुदान १३ अर्ब र ऋण ९३ अर्ब गरी कूल १ खर्ब ६ अर्ब बैदेशिक सहायता प्राप्त उनले उल्लेख गरे ।

७१३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेकाले गाउँ गाउँमा आर्थिक गतिविधि बढेको उनले बताए । चालु आवमा बीमाको पहुँच १८ प्रतिशत बीमा पुगेको बताए, अघिल्लो बर्ष बीमाको पहुँच १४ प्रतिशत थियो–उनले भने । धितोपत्र बजार सुधार उन्मुख रहेको पनि उनले बताए । गत आवको तुलनामा चालु आवमा ३५.९ प्रतिशतले बैदेशिक रोजगारीमा जानेको संख्या घटेको बताए ।

चालु आवको फागुन मसान्तसम्म २१८ वटा उद्योगमा ११ अर्ब लगानी प्रतिवबद्धता भई थप ७९५३ रोजगारी सिर्जना हुने अनुमान छ–अर्थमन्त्री खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुतीका क्रममा बताए । कूल जनसंख्याको ७७.८ प्रतिशतमा विद्युत सुबिधा पुगेको, ११४२ मेगावाट विद्युत उत्पादन भएको बताउँदै १८ प्रतिशत जनसंख्याले नविकरणीय उर्जा उपयोग गरिरहेको बताए ।

हुम्ला बाहेक सबै जिल्ला सदरमुकाममा सडक सञ्जालमा जोगिएका छन् । गौतमबुद्ध बिमानस्थलमा यसै आवभित्र निर्माण सम्पन्न हुने , पोखरा क्षेत्रीय विमानस्थल, मध्यपहाडी, उत्तर दक्षिण लोकमार्गको काम द्रुत गतिमा भइरहेको उनले बताए । चालु आवमा ११ लाख ७३ हजार पर्यटक आएका छन् । ती मध्ये हवाई मार्गबाट ८२.८ र सडक मार्गबाट १७.२ प्रतिशत आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.