मध्य पहाडमा समृद्धिको ढोका खोल्दै पुष्पलाल मार्ग, निर्माण धमाधम (फोटोफिचर)

  २०७६ जेठ १३ गते १०:४३     विकासन्युज

काठमाडौं । मध्य पहाडको लाइफ लाइन हो पुष्पलाल राजमार्ग । पाँचथरको चिवा भञ्ज्याङदेखि वैतडीको झुलाघाटसम्म १७७६ किलोमिटर लामो यो राजमार्गको पूर्वी खण्डमा यतिबेला युद्धस्तरमा काम भैरहेको छ । काठमाडौंमा आयोजना निर्देशनालय खडा गरेर पाँच वटा योजना कार्यालय मार्फत पुष्पलाल राजमार्गको निर्माण जारी छ ।
सिन्धुपाल्चोकको बाहुनेपाटीदेखि पाँचथर सदरमुकाम फिदिमसम्म मध्यपहाडी राजमार्गकै बाटो हुँदै संसदिय टोलीले स्थलगत अवलोकन भ्रमण सम्पन्न गरेको छ । सिन्धुलीको गोलञ्जोर, उदयपुरको घुर्मी, खोटाङको दिक्तेल, भोजपुरको भोजपुर बजार, धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ र पाँचथरको फिदिममा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना भयो ।
अन्तरक्रियामा सांसद, आयोजनाका कर्मचारी, निर्माण व्यवसायी, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधी, नागरिक समाजका अगुवा गरि ५०० भन्दा बढी नागरिक अन्तरक्रियामा सहभागी भए ।
समयमै काम सम्पन्न हुनुपर्ने, गुणस्तर कायम हुनुपर्ने, निर्माण सामग्रीको सहज आपुर्ति, वातावरण संरक्षण, मुआब्जा र राइट अफ वेको मुद्धा उठाएका थिए । संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको नेतृत्वमा स्थलगत अवलोकन भ्रमणमा गएको टोलीमा सांसदहरु रंगमति शाही, गणेश पहाडी र राजेन्द्र राई सहभागी थिए ।
टोलीमा आयोजनाका निर्देशक दिपक केसीको नेतृत्वमा काभ्रेका योजना प्रमुख विजय चापागाईँ र पाँचथरका योजना प्रमुख अभिमन मुल्मीको सहभागीता रहेको थियो । एक साता लामो स्थलगत अवलोकन भ्रमण र स्थानीय सरोकारवालाहरुका चासोलाई समेटेर समितिले प्रतिवेदन तयार पार्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक निर्देशन दिने समिति सभापति कल्याणी खड्काले जानकारी दिईन् ।
पुष्पलाल(मध्यपहाडी) राजमार्गले मध्य पहाडमा विकास र समृद्धिको ढोका खोल्ने सांसद पहाडीले बताए । अर्का सांसद राजेन्द्र राईले मध्य पहाडी राजमार्गले पहाड नागरिकको दुःख अन्त्य गर्ने बताए । सांसद रंगमति शाहीले गाडी देख्न नपाएका हुम्लाको प्रतिनिधीका रुपमा पूर्वी पहाडीको दुःख देखेको बताइन् ।
आयोजना निर्देशक दिपक केसीले मध्य पहाडमा विकास र समृद्धिको स्वर्ग निर्माण गर्ने आयोजनाको द्र्त गतिमा अघि बढाउने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाए । उनले रुग्ण अवस्थामा पुगेका सडक खण्ड र पुलहरुका लागि निर्माण व्यवसायीलाई अन्तिम मौका दिने बताए । अन्तिम अवसरको सदुपयोग नगरेर ठेक्का रद्ध गरेर नयाँ प्रक्रिया बढाउनेको उनको भनाई थियो ।
मध्य पहाडी क्षेत्रको लाइफ लाइनका रुपमा हेरिएका राजमार्गको मार्गाधिकार(राइट अफ वे) घटाउन सबै जसो जिल्लाका जिसस, नगरपालिका र स्थानीयहरुले माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.