बुद्ध एयरले आजदेखि कोलकत्ता उडान गर्ने

  २०७६ जेठ १३ गते ८:३०     विकासन्युज

काठमाडौँ । आन्तरिक उडानमा अग्रस्थानमा रहेको बुद्ध एयरले एटीआर विमानमार्फत सोमबारदेखि काठमाडौँबाट भारतको कोलकत्ता सिधा उडान गर्दैछ । १२ वटा विमान भएको बुद्धका लागि कोलकत्ता चौथो अन्तर्राष्ट्रिय गन्तव्य हो । यसअघि बुद्धले भुटानको पारो, भारतको लखनउमा काठमाडौँबाट सिधा उडान गरेको थियो । आर्थिक हिसाबले फाइदा नभएपछि हाललाई यी दुवै रुटमा उडान बन्द गरिएका छन् ।

भारतको बनारसमा भने बुद्धले सातामा दुई उडान भर्दै आएको छ । २२ वर्षअघि स्थापना भएको यस एयरलाइन्सले सोमबारदेखि चौथो गन्तव्यका रूपमा कोलकत्ता उडान थाल्दै छ । यसलगत्तै पाँचौँ गन्तव्यका रूपमा पूर्वोत्तर भारतको आसाममाको राजधानी गुवाहाटीमा पनि उडान थाल्ने घोषणा गरेको छ । ‘गुवाहाटी उडानमा सैद्धान्तिक सहमति पाइसक्यौँ । केही समयभित्रै उडान थाल्दै छौँ,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले भने ।

बुद्धले ७० सिट क्षमताको एटीआर–७२ विमानबाट यो रुटमा सातामा तीनवटा उडान गर्दै छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कोलकत्तास्थित नेताजी सुवाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान अवधि डेढ घन्टाको हुनेछ । बुद्धले यस रुटको दुईतर्फी भाडा २२ हजार हाराहारी तय गरेको छ । ७० सिट क्षमताको एटीआरले एकतर्फी उडानमा ६५ यात्रुसम्म बोक्ने छ ।

यो रुटमा हाल भारतीय एयरलाइन्स एयर इन्डियाले उडान भर्दै आएको छ । भारतभित्र ६९ वटा गन्तव्यसहित ३७ वटा मुलुकमा सिधा उडान भर्दै आएको एयर इन्डियासँग बुद्धले प्रतिस्पर्धा गर्नेछ । नेपाल सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष २०२० तथा पछिल्ला वर्ष होटेल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले बढाएको लगानीलाई आधार मान्दै बुद्धले यो रुटमा उडान थालेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.