सेयर खरिदको भुक्तानी अब अनलाइन बाटै, दिनमा १० लाखसम्म भुक्तानी गर्न सकिने

  २०७६ जेठ १२ गते १९:१९     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ताले आइतबार(आजै)देखि अनलाइन बाटै सेयर खरिदको भुक्तानी गर्न सक्ने भएका छन् । लगानीकर्ताले अबदेखि नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल) को प्रणालीमा आवद्ध सबै बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन रकम भुक्तानी गर्न पाउने भएका हुन् ।

नेप्सेले आइतबार एक  सूचनामार्फत  उक्त सेवाको जानकारी गराएको हो । यसका साथै, लगानीकर्ताले नेप्सेले सञ्चालनमा ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टम(नट्स)/टिएमएसको माध्यमबाट कारोबार गर्दा एनसिएचएलमा आवद्ध जुनसुकैबाट सेयर खरिद गर्दा अनलाइन बाटै रकम तिर्न सक्ने छन् । पछिल्लो तथ्याङ्क अनुसार उक्त एनसिएचएल प्रणालीमा हाल ४८ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध रहेका छन् ।

त्यस्तै, नेप्सेका अनुसार लगानीकर्ताले दुई चरणमा सेयर कारोबार भुक्तानी तिर्न र लिन सक्नेछन् । हाल पहिलो चरणमा एनसिएचएल आवद्ध बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले सदस्य दलालको खातामा अनलाइनबाट भुक्तानी गर्न सक्ने छन् । त्यस्तै, दोस्रो चरणमा सदस्य दलालबाट लगानीकर्ताले भुक्तानी प्राप्त गर्न सक्ने छन् ।

यसका साथै, एनसिएचएलका अनुसार हाल लगानीकर्ताले एक दिनमा एक बैंकबाट अनलाइनमार्फत बढीमा १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधा नेप्से, एनसिएचएल र सदस्य दलालहरुको संयुक्त प्रयासबाट थालिएको हो । जसबाट लगानीकर्ताले उच्चतम लाभ लिन सक्ने नेप्सेको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.