काठमाडौँ विस्फोट अपडेट: दुईको मृत्यु, ६ घाइते

  २०७६ जेठ १२ गते १८:०२     विकासन्युज


काठमाडौँ । काठमाडौँको दुई स्थानमा भएको विस्फोटमा परी आज दुई जनाको मृत्यु भएको छ । उक्त विफोटमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

“दुई ठाउँमा एक-एक जनाको मृत्यु भएको पुष्टि भएको छ, अन्य छ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ, अहिले उद्धारमै खटिएकाले घटनाको कारण यकिन भइसकेको छैन”, प्रवक्ता पोखरेलले भने, “मृतकको पहिचान खुलेको छैन ।”

सुकेधारा विस्फोटमा घाइते भएका पाँच जनालाई उपचारका लागि ओम अस्पतालमा लगिएको र घट्टेकुलोमा घाइते भएका एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

साँझ करीब ५ बजेको आसपासमा काठमाडौँको सुकेधारास्थित ढलानी पुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । सुकेधारामा एक सैलुन पछाडि विस्फोट भएको र घट्टेकुलोमा भने घरमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

“विस्फोट भएको छ, के विस्फोट भनेर यकिन भएको छैन”, थापाले भने । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । सुकेधारमा भने सिलिण्डर पड्किएको जानकारी आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.