धरानमा गच्छदारमाथि गोली प्रहार, चार लाख लुटेर लुटेरा फरार

  २०७६ जेठ १२ गते १६:५७     विकासन्युज

काठमाडौं । जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज(आइतबार) अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उनको साथमा भएको ४ लाख रुपैयाँ लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गच्छदार पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए । रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार गरेको गच्छदारले बताए । उनीहरूले चार राउण्ड गोली हानेकामा दुई गोली उनलाई लागेको थियो ।

बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोली लागेका गच्छदारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज दुर्गा पराजुलीले जानकारी दिए । घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको सहायक प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । धरानबाट अन्यत्र जाने चारैतिरका नाकामा प्रहरी चेकपइन्ट राखेर लुटेराको खोजी गरिरहेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.