नेप्से दोहोरो अंकले घट्दा ६२ करोडको कारोबार, सबै समूह राताम्मे

  २०७६ जेठ १२ गते १५:२३     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको आइतबारकाे नेप्से बजार बन्द हुँदा ११.९३ अंकले घटेर १३०२.६१ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशत घटी हो ।

त्यस्तै, परिसूचक सहित कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार कुल १६५ कम्पनीको ६२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा झण्डै ३१ करोड रुपैयाँ घटी हो । गत बिहीबार ९३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

कूल कारोबारमा आएका कम्पनीमध्ये नेपाल बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको एकैदिन ४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५६० रुपैयाँ रहेको छ ।

बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे देखिएका छन् । कारोबारमा आएका कूल ११ समूह मध्ये सबैभन्दा बढी जीवन बीमा समूह ओरालो लागेको छ । बैंकिङ्, फाइनान्स, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचअल फण्ड समूह सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।

सो दिन सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । उता जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.