स्थानीय तहका निर्णयः ‘घुस लिनेदिनेलाई कारवाहीदेखि भेज खानासम्म’

  २०७६ जेठ १२ गते १२:५८     विकासन्युज

काठमाडौँ । देशका ७५३ स्थानीय तहहरुले विभिन्न नयाँ नयाँ निर्णय गरेर उदाहरण प्रस्तुत गरिरहेका छन् । उनीहरुले गर्ने निर्णयको देशव्यापी चर्चा हुने गरेको छ । पछिल्लो समय जेठ ९ गते दैलेखको नौमुले गाउँपालिका र रुकुमको आठबीसकोट नगरपालिकाले फरक खालका निर्णय गरेका छन् ।

दैलेखको नौमुले गाउँपालिकाले घुस दिने र घुस खाने दुबैलाई कारवाही गर्ने सूचना निकालेको छ । नौमुले गाउँपालिका मातहतका कुनै कार्यालय वा कर्मचारीले कसैसँग घुस मागेको वा दिएको भेटिएमा तुरुन्त कारवाही गर्ने सूचनामा उल्लेख छ । यदी कसैले घुस मागेमा गाउँ पालिका अध्यक्ष भदे बुढामगरलाई ९८१५४४६६६६ मा जानकारी दिन भनिएको छ ।

यता, रुकुम जिल्लाको आठबीसकोट नगरकार्यपालिकाको जेठ ९ गतेको बैठकले नगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक कार्यक्रमहरुमा प्रमुख अतिथि सहित बढीमा ५ जना अतिथि राख्न पाउने आचारसंहिता जारी गरेको छ ।
धार्मिक र साँस्कृति बाहेका कार्यक्रममा अतिथिहरुलाई खादा र अबिर नगलगाउने तथा स्थानीय स्तरमा उत्पादन भएका फूल तथा सामाग्रीबाट निर्माण भएका मालाहरु लगाउन सकिने आचारसंहितामा उल्लेख छ ।

प्रमुख अतिथिले बढीमा ३० मिनेट र अतिथिहरुले बढीमा १० मिनेट मन्तव्य राख्न पाउने, कार्यक्रमको सेड्युल भन्दा १० मिनेट वा सो भन्दा ढिलो आउनेलाई प्रमुख अतिथि वा अतिथि बनाउन आयोजक बाध्य नहुने, कार्यक्रममा भेज खानामात्र खुवाउने, आयोजकले तोकिएको समयभन्दा आधाघण्टा भित्र कार्यक्रम शुरु नगरेमा प्रमुख अतिथि वा अतिथि कार्यक्रममा बस्न बाध्य नहुने निर्णय गरिएको छ ।

यसैबीच, केही समय अघि प्रदेश २ को जनकपुरधाम उपमहानगर पालिकाका कर्मचारीहरु र सेवाग्राही दुबैले कार्यालय समयमा पान चपाउँदै जान नपाउने निर्णय भएको थियो, यो निर्णयको देशव्यापी चर्चा भएको थियो ।

पान खाएर कार्यालयमा जथाभावी थुकेर दुर्गन्ध फैलाउने गरिएकोमा कार्यालयलाई व्यवस्थित बनाउने यस्तो निर्णय गरिएको नगरपालिकाका मेयर लालकिशोर साहले बताएका थियो । यस्तै, स्याङ्जाको वालिङ नगरपालिका बजार क्षेत्रका सबै घरमा एउटै रंग लगाउने निर्णयको पनि चर्चा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.