२१ ओटा वित्तीय संस्था गाभिएर ९ ओटा बन्दै, कुन संस्था कसरी हुँदैछन् मर्ज ?

  २०७६ जेठ १२ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि र लघुवित्तको संख्या घटाउने नीतिका कारण क्षेत्रीय विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुमा मर्जरको लहर आएको छ । नेपाल राष्ट्र बैंकले एकजिल्ले वा ३ जिल्ले विकास बैंकहरुलाई पुँजी बढाएर प्रदेशस्तरीय बन्न निर्देशन दिएसँगै ती बैंकहरुमा मर्जरको लहर चल्न थालेको हो ।

हाल ३३ ओटा विकास बैंकमध्ये ११ ओटा राष्ट्रिय स्तरको विकास बैंक, एउटा दशजिल्ले विकास बैंक र १९ ओटा ३ जिल्ले विकास बैंक र बाँकी २ ओटा एकजिल्ले विकास बैंक छन् । राष्ट्रिय स्तर र दशजिल्ले विकास बैंकहरुले मात्रै तोकिएको चुक्तापुँजी पुर्याएका छन् । बाँकी २१ ओटा विकास बैंकहरु भने पुँजीवृद्धिकै प्रक्रिया छन् ।

हाल प्रदेश १ मा रहेका काबेली विकास बैंक र सप्तकोशी विकास बैंक मर्जरको प्रक्रियामा छन् । ३५ प्रतिशत बोनस दिएपछि २८.४३ करोड चुक्ता पुँजी भएको काबेली विकास बैंक र ५२.३८ करोड चुक्तापुँजी रहेको सप्तकोशी विकास बैंकबीच १ः१ मा मर्जर भए पनि चुक्ता पुँजी करिब ८१ करोड पुग्नेछ ।

उता प्रदेश ५ मा रहेका पुर्णिमा विकास बैंक र भार्गव विकास बैंक शाइन रेसुङ्गा बैंकसँग मर्ज भएर राष्ट्रियस्तरको विकास बैंक बन्ने तयारी गरिरहँदा सोही प्रदेशमा रहेका तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच समेत मर्जरको लागि सहमति भएको छ । यी दुई बैंकहरु पनि राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्यसहित अघि बढिरहेका छन् ।

त्यसो त राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकले पनि एनएमबि बैंकसँग मर्जरका लागि एमओयू गरिसकेको छ । प्राइम बैंकसँग यसअघि स्वेच्छिक मर्जरमा गएको ओमले सो मर्जर प्रक्रिया तोडेपछि बाध्यकारी रुपमा अर्को प्रक्रियामा गएको हो । यो प्रक्रिया भने एक्विजिसन नभएर मर्जर हो । यद्यपि मर्जरपछिको बैंकको नाम भने एनएमबि बैंक नै रहनेगरी सहमति भएको छ ।

लघुवित्तको संख्या आधाले घटाउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले त्यस्ता संस्थाहरुलाई फोर्स मर्जरमा लैजाने तयारी गरिरहँदा यो क्षेत्रमा स्वेच्छिक मर्जरका लागि अर्को लहर सुरु भएको छ । हाल सञ्चालन अनुमति पाएका ७२ माइक्रोफाइनान्स कम्पनीहरुमध्ये ९ ओटा संस्थाहरु मर्जरका लागि अघि बढिसकेका छन् । ती संस्थाहरु मर्जरपछि ४ ओटा संस्थामा परिणत हुनेछन् ।

जसअनुसार, किसान माइक्रोफाइनान्सले मिर्मिर लघुवित्त र नागबेली लघुवित्तलाई गाभ्नेगरी सहमति भएको छ । त्यस्तै, वोमी माइक्रोफाइनान्सले नागरिक लघुवित्तलाई आफुमा गाभ्ने प्रक्रिया सुरु भएको छ । उता, साधना लघुवित्तले पनि आर्थिक समृद्धि लघुवित्तलाई आफुमा गाभ्नेगरी सहमति गरेर प्रक्रिया अघि बढाउँदा कालिका लघुवित्त र जनसेवी लघुवित्त भने एक आपसमा मर्जरको तयारीमा छन् । सारथी लघुवित्त वित्तीय संस्थाले सत्यवती लघुवित्तलाई प्राप्ति गर्नेगरी औपचारिक सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.