विद्युतीय कारोबारको सीमा १० गुणासम्म बढ्यो, १० लाखसम्म भुक्तानी दिन चेक काट्नु नपर्ने

  २०७६ जेठ ११ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन प्रणालीमार्फत् हुने भुक्तानीमा १० गुणासम्म वृद्धि गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गरी विद्युतीय माध्यमबाट हुने प्रणालीलाई यसअघिकाे भन्दा खुकुलो बनाएको हो । नयाँ व्यवस्थाअनुसार अब डेबिट वा प्रिपेड कार्डको प्रयोग गरी एक पटकमा न्युनतम ५०० देखि २५ हजार रुपैंयासम्म निकाल्न पाइनेछ, यसअघि यो सीमा १५ हजार रुपैंया थियो ।

डेबिट वा प्रिपेड कार्डको प्रयोग गरी अर्को बैंक तथा वित्तीय संस्थाका मेसिनबाट भुक्तानी दिँदाको सीमा पनि ५०० रुपैंयादेखि २५ हजार रुपैंयासम्म नै कायम गरिएकाे छ। साथै यसरी अर्को बैंकको मेसिनबाट भुक्तानी लिँदा कति शुल्क लिने हो, सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेकाे छ ।

त्यस्तै, इन्टरनेट बैंकिङ मार्फत् हुने कारोबारलाई प्रतिदिन १ लाख रुपैंयाबाट बढाएर प्रतिदिन १० लाख रुपैंया पुर्याएको छ । त्यस्तो कारोबार एक महिनामा ३० लाख रुपैंयाभन्दा बढी हुन नपाउने सीमा तोकिएको छ । यसअघि यो सीमा मासिक १० लाख रुपैंयामा सीमित थियो । क्युआर कोडमार्फत् हुने भुक्तानी पनि सोही सीमामा कायम राखिएको छ ।

मोबाइल बैंकिमार्फत् प्रयाेगकर्ताले यसअघि प्रतिदिन १० हजार रुपैंयासम्ममात्र भुक्तानी गर्नसक्ने व्यवस्था रहेकोमा अब दैनिक ५० हजार रुपैंयासम्म भुक्तानी गर्न पाउने भएका छन् । यो सीमा मासिक १ लाख रुपैंया तोकिएको छ तर बिल प्राप्त भई हुने भुक्तानीमा भने यो सीमा लागु नहुने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले नेपालमा विद्युतीय भुक्तानीमा प्रयोगकर्ताको रुचि र प्रयोग बढ्दै गएको र हालसम्मको अनुभवमा यस्तो भुक्तानी असुरक्षित नदेखिएकोले कारोबारको सीमालाई खुकुलो बनाइएको जानकारी दिए । नेपाल राष्ट्र बैंकको यस्तो व्यवस्थाले भुक्तानी प्रणालीलाई अझै फराकिलो बनाउन र नेपाल सरकारको डिजिटल नेपालको अभियानलाई पूरा गर्न सहयोग पुर्याउने विश्वास समेत कार्यकारी निर्देशक ढकालले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.