प्राइभेट र बैंकिङ क्षेत्रका कर्मचारीलाई गतवर्ष निराशाजनक, कृषि क्षेत्रको आम्दानी सर्वाधिक बढ्यो

  २०७६ जेठ १० गते १६:३०     विकासन्युज

काठमाडौं । निजी तथा बैंकिङ क्षेत्रका कर्मचारीको लागि २०७५ साल निराशाजनक रहेको देखिएको छ । एक वर्षको उक्त अवधिमा देशभरका विभिन्न क्षेत्रमध्ये निजी क्षेत्र र बैंकिङ क्षेत्रका कर्मचारीको आम्दानीको वृद्धिदर सबैभन्दा कम रहेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय ज्याला तथा तलब सुचकांकले सो वर्ष निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब शुन्य प्रतिशतले बढेको देखाएको छ भने बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीको तलबमा पनि १.१ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । सो अवधिभित्र समग्र ज्याला र तलबको कुल आम्दानी ९.६ प्रतिशतले बढेकोमा तलबभत्ता तर्फ ६.६ प्रतिशत र ज्यालातर्फ १०.५ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सन् २००४ काे मूल्यमा आधारित ज्याला तलब सुचकांक (स्राेत : नेपाल राष्ट्र बैंक)

तलबतर्फ वृद्धि भएको ६.६ प्रतिशतमध्ये निजामति कर्मचारीको ७.४ प्रतिशत, सार्वजनिक संस्थानका कर्मचारीको ५.८ प्रतिशत, सुरक्षा निकायसँग सम्बन्धित सेना र प्रहरीको ८.१ प्रतिशत तथा शिक्षा क्षेत्रमा काम गर्नेहरुको तलब १०.३ प्रतिशतले बढेको छ ।

ज्यालातर्फ औसत १०.५ प्रतिशतको वृद्धि रहँदा कृषि क्षेत्रमा मजदुरको ज्याला भने सबैभन्दा धेरै बढेको छ । कृषि क्षेत्रका श्रमिकहरुले यो वर्ष आफ्नो आम्दानीमा ११.३ प्रतिशतले वृद्धि गरेका छन्, यसमध्ये महिला श्रमिकको ज्याला वृद्धिदर १२.१ प्रतिशत र सोही क्षेत्रका पुरुपहरुको ज्याला वृद्धिदर १०.१ प्रतिशत देखिएको छ । त्यस्तै, उद्योग क्षेत्रका श्रमिकको ज्याला ८.८ प्रतिशत र निर्माण क्षेत्रका श्रमिकको ८.८ प्रतिशतले वृद्धि भएको छ ।

तलब इन्डेक्समा अधिकृत वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरुको आम्दानीकाे  बृद्धिदर तल्ला तहका कर्मचारीहरुको भन्दा  बढी देखिएको छ । औसत ६.६ प्रतिशतल बढेको सो सूचकमा अधिकृत वा सोभन्दा उपल्लो तहको आम्दानी ८.१ प्रतिशतले बढ्दा तल्लो तहका कर्मचारीको ५.९ प्रतिशतले मात्रै त्यस्तो आम्दानी बढेको देखिएको छ । औद्योगिक क्षेत्रका उच्च दक्षतायुक्त कर्मचारीहरुको तलब भने सबैभन्दा बढी १२.२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सन् २००४ को मूल्यमा आधारित भएर उक्त सुचकांकको सर्भेक्षण गरेको हो । सो वर्षको तलब सूचकांकलाई १०० मानेर राष्ट्र बैंकले हालको सुचक निकालेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.