नगरभरीका विद्यालयमा एउटै रङ, १ करोड रकम बिनियोजन

  २०७६ जेठ १० गते १४:३०     विकासन्युज

लम्की । कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै रङरोगनका लागि लागत अनुमान तयार गर्न थालेको छ ।

टीकापुर स्रोतकेन्द्रका स्रोतव्यक्ति धनबहादुर शाहले सामुदायिक विद्यालय एकै खालको देखाउन बजेट विनियोजन गरेको बताए । “पहेँला र कलेजी दुई प्रकारको रङ लगाउने सहमति भएको छ”, स्रोतव्यक्ति शाहले भने, ‘‘सामुदायिक विद्यालयको छुट्टै पहिचान स्थापित होस् भन्ने चाहना पनि हो ।’’ शाहीले अधिकांश सामुदायिक विद्यालय एक दशकभन्दा बढी समयदेखि रङरोगन नभएको अवस्था रहेकाले यो अभियानले राहत हुने बताए ।

सब इञ्जिनीयर गम्भीरसिंह साउदले प्राविधिकले लागत अनुमान तयार गरिरहेको बताउँदै रु १० लाखभन्दा कम लागत लाग्ने विद्यालयमा व्यवस्थापन समितिको सहयोगमा रङरोगन गरिने बताए । उनले भने, “१० लाख माथिका योजना भए ठेक्कामा दिने प्रचलन छ । जेठभित्र रङरोगन सक्ने गरी काम थालेका छौँ ।”

नगरपालिकाले रङगरोगन गरिदिने भएपछि शिक्षक पनि खुशी भएका छन् । त्रिभुवन मावि बटनपुरका प्रअ रवीन्द्र कठायतले स्थानीय सरकारले सबै विद्यालयलाई समेट्ने गरी उदाहरणीय कार्य शुरु गरेको बताए । ‘‘सबै विद्यालय एउटै खालका देखिन्छन्, यसले विभेद अन्त्यमा समेत सहयोग पुगेको छ”, प्रअ कठायतले भने, “वर्षौंदेखि आर्थिक अभावमा रङरोगन गर्न नसकेका विद्यालयलाई राहतसमेत भएको छ ।”

नगरपालिकाले शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएपछि टीकापुरमा परीक्षा प्रणाली व्यवस्थित गरिएको जनाएको छ । नगरप्रमुख तपेन्द्रबहादुर रावलले शैक्षिक गुणस्तर वृद्धिका लागि विषयगत पाठ्ययक्रमसहितको योजना बनाएको शैक्षिक पात्रो हरेक विद्यालयमा उपलब्ध गराइएको बताए । “हरेक महीना प्रधानाध्यापक र व्यवस्थापन समितिसँग छलफल हुन्छ”, नगरप्रमुख रावलले भने, “विद्यालयमा राम्रा काम र समस्याबारे छलफल हुन्छ, बजेट आवश्यक भए कार्यपालिकाले निर्णय गर्छ ।” कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले सञ्चालन गर्न थालेको छ ।

नगरप्रमुख रावलले शिक्षा नियमावली पनि अन्तिम चरणमा रहेको बताउँदै शिक्षा नियमावली स्वीकृत भएपछि अझ शैक्षिक विकासमा सहयोग पुग्ने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.