डन्डीमा उद्योगमा यो वर्ष २० अर्ब थप लगानी

  २०७६ जेठ १० गते ८:३६     विकासन्युज

काठमाडौं । मुलुकमा बनेको स्थिर र दुई तिहाइको बलियो सरकारका कारण पूर्वाधार निर्माणले गति लिने आसमा नयाँ स्टिल (डन्डी) उद्योग सञ्चालनमा आएका छन् । चालु आर्थिक वर्षमा यी उद्योगमा करिब २० अर्ब रुपैयाँ लगानी थपिएको छ ।

उद्योगी, व्यवसायीका अनुसार नयाँ उद्योग तथा उत्पादन क्षमता बढाउन उद्योगमा २० अर्ब रुपैयाँ लगानी थपिएको हो। ‘स्टिल उद्योगमा अब एक सय अर्ब रुपैयाँ लगानी पुगेको छ,’ नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष साहिल अग्रवालले भने, ‘उद्योगले क्षमता बढाउने र नयाँ उद्योग थपिने क्रम जारी छ।’

चालु आर्थिक वर्षमा आरती स्टिल, श्री स्टिल, विजया स्टिल, नारायणी स्पातलगायत नयाँ स्टिल उद्योग सञ्चालनमा आएका छन् । गोदावरी स्टिल र अम्बेको नयाँ प्लान्ट पनि आउने क्रममा छ । अन्य उद्योग निर्माणाधीन छन् र केहीले स्टिल उद्योग खोल्न उद्योग विभागबाट अनुमति लिएका छन्। बजारमा डन्डीको खपत वार्षिक १०-१२ लाख टन भए पनि अहिले सञ्चालनमा रहेका उद्योगको उत्पादन क्षमता वार्षिक २९–३० लाख टन रहेको एसोसिएसनले जनाएको छ।

एसोसिएसनका अनुसार बजारको मागभन्दा अहिले सञ्चालनमा रहेको उद्योगको उत्पादन क्षमता दोब्बरभन्दा बढी भए पनि स्टिल उद्योगमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ।

स्वदेशीमात्र नभएर चीन र भारतका कम्पनीले पनि नेपालको स्टिल उद्योगमा संयुक्त रुपमा लगानी गर्न विभागबाट स्वीकृत लिएका छन्। धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ मा झोङवाङ स्टिल चाइना कम्पनी प्रालिले २४ करोड ५० लाख रुपैयाँको लागतमा उद्योग सञ्चालनको अनुमति लिएको छ। यो उद्योग पूर्ण चिनियाँ लगानीको हो। विनित अग्रवालले पर्साको वीरगन्ज महानगरपालिका वडा नं २८ मा २४ करोड ९० लाख रुपैयाँको लगानीमा रियस स्टिल्स उद्योग दर्ता गरेका छन्। झापाको विर्तामोड नगरपालिकामा २० करोड रुपैयाँ लगानीमा दीपक डालमियाले दुर्गा स्टिल उद्योग सञ्चालन गर्न अनुमति लिएका छन्।

अनुपकुमार यादवलाई नवलपरासीको रामग्राममा २४ करोड ७० लाख रुपैयाँ लगानीमा स्टिल खोल्ने अनुमति उद्योग विभागले दिएको छ। त्यसैगरी, भारतको ब्रोन्टेस स्टिल प्रालि र दिनेशराज भण्डारी, देवकान्त पोखरेल, उदयनारायण देवकोटा, प्रकाश सुवेदीसहितले एक अर्ब २८ करोड रुपैयाँ लगानीमा कैलालीको घोडाघोडीमा उग्रतारा स्टिल उद्योग सञ्चालनको अनुमति लिएका छन्। गत वर्ष १३ वटा उद्योगले अनुमति लिएकोमा यो वर्ष पाँचवटा नयाँ स्टिल उद्योगले विभागबाट अनुमति लिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.