भारतमा काे आउँदा नेपाललाई बढी फाइदा ? मोदीलाई पर्खिँदै चीन, पश्चिमाको रोजाईमा राहुल

२०७६ जेठ ९ गते ७:१० विकासन्युज

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र भनेर दाबी गर्ने भारतमा आगामी ५ वर्षको नेतृत्वका लागि बिहीबार मतगणना हुँदैछ । भारतको निर्वाचन आयोगले संघीय संसदको लोकसभाका ५४३ सिटमध्ये ५४२ सिटका लागि ७ चरणमा निर्वाचन गरेको थियो । २० तारिखका दिन अन्तिम चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो निर्वाचनामा पनि भारतीय जनता पार्टी बलियो देखिएको निर्वाचनपछि विभिन्न मिडियाहरुले सार्वजनिक गरेको एक्जिटपोल नतिजाहरुले देखाएका छन्, जसमध्ये सबैजसो दलले भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्सले बहुमत प्राप्त गर्ने सर्वेक्षण सार्वजनिक गरेका छन् । केहीले त दुई तिहाई सिट प्राप्त गर्ने समेत जनाएका छन् ।

निर्वाचन आयोगले मतगणनाको तयारी गर्दैगर्दा विपक्षी दलका नेताहरु भने निर्वाचनमा धाँधलीको आशंकासहित मतगणना रोक्न माग गरिरहेका छन्, केही दलहरुले आफूहरुको सहमतिबिना मतगणना सुरुभए हिंसा भड्किन सक्ने चेतावनी दिएपनि निर्वाचन आयोगले तोकिएकै समयमा मतगणना हुने जनाएको छ ।

यस निर्वाचनमा भारतका प्रधानमन्त्रीका रुपमा तीन नेताको नाम चर्चामा रहेको छ । सत्तारुढ भारतीय जनता पार्टी र सिंगो एनडीए गठबन्धनकै तर्फबाट फेरि नरेन्द्र मोदी नै आगामी ५ वर्षका लागि प्रधानमन्त्रीका दाबेदारको रुपमा प्रस्तुत भएका छन् । उनको गठबन्धनको तर्फबाट अन्य कसैको पनि नाम हालसम्म चर्चामा छैन ।

उता, एनपीएको तर्फबाट तेलगु देशम् पार्टी (टीडीपी)का अध्यक्ष भने चन्द्रबाबू नाइडूको नाम चर्चामा छ । आन्द्र प्रदेशमा मूख्यमन्त्रीको रुपमा सबैभन्दा बढी समय बिताएको नाइडूलाई एनपीएले प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रुपमा अघि सारे पनि आफ्नो गठबन्धनको बहुमत आएको अवस्थामा राहूल गान्धीले नै प्रधानमन्त्रीको रुपमा अघि सर्ने सम्भावना रहेको समेत बताइन्छ । कुनैपनि गठबन्धनमा नरहेका केही दलहरुको समेत सीट जोडेर सरकार बनाउने अवस्थमा मात्रै नाइडू प्रधानमन्त्री हुनसक्ने सम्भावना छ ।

को प्रधानमन्त्री बन्दा नेपाललाई के फाइदा ?

१. नरेन्द्र मोदी : हाल समेत प्रधानमन्त्री रहेका नरेन्द्र मोदीलाई मतगणनाअघि नै दोस्रो कार्यकालको प्रधानमन्त्रीको रुपमा हेरिएको छ । गुजरातमा मुख्यमन्त्री हुँदा ल्याएको विकास मोडेल र कट्टर हिन्दूवादी मानिने उनकै लिगेसीका कारण बर्षौदेखि कमजोर भारतीय जनता पार्टीले एकल बहुमतसहितको ५ वर्षे सरकार बनाएको थियो ।

५ वर्षको अवधिमा नरेन्द्र मोदीले ४ पटक नेपाल भ्रमण गरिसकेका छन् । नेपालमा संविधान जारी भएपछि नाकाबन्दीको हदसम्म उत्रिएका उनले पछि यो गल्तीको प्रायश्चित गर्नेगरी दुईपटक नेपाल भ्रमण गरे पनि नेपालीहरुको सहानूभूति भने अझै पाउन सकेका छैनन् । यद्यपि उनको पुनरागमनले भारतीय सरकारलाई नेपाल सरकारसँग फेरि परिचित हुन कुनै प्रयास गर्नुपर्दैन ।

२. राहुल गान्धी : गान्धी परिवारमा हुर्किएर राजनीतिक जीवनमा आएका उनी काँग्रेस आईका अध्यक्ष हुन् । काँग्रेसको नेतृत्वमा रहनुका बाबजुद पनि उनी नेपालप्रति त्यति परिचित छैनन् । त्यसो त गह्रौँ कुटनीतिको शैली लिने काँग्रेसका तर्फबाट यसअघि प्रधानमन्त्री बनेका मनमोहन सिंह १० बर्षमा एकपटक मात्रै नेपाल आएका थिए, त्यो पनि सार्ककै बैठकमा सहभागी हुनको लागि मात्रै ।

अघिल्लो वर्षमात्रै आफुलाई शिवभक्त देखाउन मानसरोवरको यात्रामा गएका राहूल काठमाडौंबाट सिमकोट, हिल्सा हुँदै त्यहाँ गएका थिए । त्यसमाथि भारतको भूराजनीतिक धरातलकै कारण पनि नेपाल देश उनीसँग अपरिचित भने होइन । यद्यपि नेपालको आवश्यकताप्रति उनी केही कममात्रै जानकार छन् । तर, उनको प्रधानमन्त्रीत्वमा नेपालले नाकाबन्दीजस्तो क्रुर कदमलाई बिर्सिने केही प्रयास गर्नसक्छ ।

३. चन्द्रबाबू नाइडू : आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नाइडू एनपीए गठबन्धनमा अर्का सम्भावित उम्मेदवार हुन् । सम्मानजनक बहुमत नआएको अवस्थामा ५ वर्षसम्म सरकार स्थिर नहुनसक्ने अवस्थामा मात्रै काँग्रेसले उनको नाममा समर्थन गर्नसक्ने संकेत गरेको छ । यसअघि प्रधानमन्त्रीको दाबी नगरेका राहुलले चुनावपछि भने जनताले बिहीबार आफूलाई के गर्ने भन्ने आदेश दिने र आफू त्यहीअनुसार निर्णय गर्ने बताएका छन् ।

क्षेत्रीय राजनीतिमा हुर्किएका नाइडू प्रधामन्त्री भएको अवस्थामा नेपाललाई अन्य दुई सम्भावित उम्मेदवारहरुभन्दा बढी असजिलो हुनसक्छ । क्षेत्रीय राजनीतिमा रमाएका उनलाई नेपाली भुराजनीतिक अवस्था र आवश्यकता बुझ्न पनि समय लाग्नसक्छ । त्यसो त नरेन्द्र मोदी पनि क्षेत्रीय राजनीतिबाटै केन्द्रमा आएको भएपनि उनको ज्ञान र विचारको क्षमता त्यसभन्दा केही माथि नै रहेको बुझ्न सकिन्छ, त्यसैले उनले एउटा गम्भीर गल्तीका बाबजुद भूधरातलीय रुपमा संवेदनशील मानिने नेपालसँगको सम्बन्ध सामान्यीकरण गर्न सकेका छन् । यो ठाउँमा काँग्रेसका कुनै नेता थिए भने सम्बन्ध पुनस्थापित हुन बर्षौंसम्म लाग्नसक्थ्यो ।

एशियाका लागि मोदी ‘उपयुक्त’

कट्टर राष्ट्रवादीको रुपमा आफूलाई चिनाउन चाहने नरेन्द्र मोदीले विपक्षीलाई होच्याउनकै लागि भनेपनि कुनै न कुनै रुपमा पश्चिमालाई गाली गर्दै आएका छन् । सोनिया गान्धीलाई इटालियन र राहुल गान्धीलाई बेलायती भएको भारतीय जनता पार्टीले आरोप लगाएको छ । त्यसमाथि कट्टर हिन्दूवादी रहेका कारण पश्चिमाहरुले पनि उनलाई त्यति मन पराउँदैनन् ।

अमेरिकासँग पनि उनको मिश्रित सम्बन्ध छ । चीन, रुस लगायतसँग सुमधुर सम्बन्ध बनाएको अमेरिकाले पनि देख्न सक्दैन, यद्यपि दक्षिण एशियामा राम्रो प्रजातन्त्रको अभ्यास गरेको र विश्वकै विकासको हिस्सा भएको शक्तिका रुपमा भारतलाई अमेरिकाले महत्व दिइरहेको हो । त्यसमाथि भारतलाई प्रयोग गरेर चीनलाई अघि बढ्न नदिने नीतिमा अमेरिका छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङसँग तुलनात्मक रुपमा राम्रो सम्बन्ध भएका मोदीको आगमनले भारत र चीन मिलेर प्रविधिमा अमेरिकालाई टक्कर दिने सम्भावना हुन्छ । हुवावे प्रतिबन्धमा परेको चीन भारतको नयाँ नेतृत्वसँग यस्तै सहकार्य खोजिरहेको छ, जुन मोदीकै पुनरागमनमा उसले सजिलो महशुस गर्छ ।

यी दुई देश मिलेर अघि बढे भने एशियाली देशहरुलाई एकआपसमा भिडाएर सर्वशक्तिमान बनिरहने अमेरिकी सपनामा तुसारापात हुनसक्छ, यसले एशियाली साम्राज्यलाई अमेरिकी नियन्त्रणबाट मुक्त गर्न सघाउँछ ।