भारतको निर्वाचन मतगणनामा हिंसाको संकेत, कार्यकर्तालाई राहुलकाे ट्वीट- ‘अबकाे २४ घण्टा सतर्क बन्नू’

  २०७६ जेठ ८ गते २२:३६     विकासन्युज

काठमाडौं । आगामी ५ बर्षको लागि देशको नयाँ नेतृत्व छान्ने भारतको लोकसभा निर्वाचनका लागि बिहीबार हुने मतगणनामा हिंसाको संकेत देखिएको छ । इलेक्ट्रोनिक मेसिनबाट भएको भोटिङमा सत्तारुढ दलले धाँधली गरेको आरोपसहित विपक्षीहरुले आफूहरुको सहमतिविना मतगणना नगर्न चेतावनी दिँदै त्यसो भए सडकमा रगतको खोलो बग्नसक्ने चेतावनी दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका राष्ट्रिय लोकसमता पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र कुशहवाले त्यस्तो चेतावनी दिएका हुन् । त्यस्तै तृणमूल काँग्रेसकी अध्यक्ष ममता बनर्जीले समेत मोदीले मेसिनमा गडबडी गरेर चुनावी नतिजा फरक पार्नसक्ने आरोप लगाएकी छिन् । काँग्रेस आईले यसका सम्बन्धमा औपचारिक रुपमा केही बोलेको छैन, तर सो पार्टीका दोस्रा तहका नेताले पनि त्यस्तै धाँधलीको आशंका गरेका छन् । भारतमा सन् २००४ देखि नै त्यस्तै मेसिनबाट भोटिङ हुँदै आएको छ तर यसपटक भने धाँधलीको आरोप लगाइएको छ ।

यद्यपि भारतीय निर्वाचन आयोगले बिहीबार ८ बजेदेखि गणना सुरु गर्ने जनाएको छ । भारतको ५४३ सिटमध्ये ५४२ सिटका लागि निर्वाचन सम्पन्न भएको छ । इलेक्ट्रोनिक मेसिनमा भोटिङ भएका कारण सम्पूर्ण निर्वाचन क्षेत्रका नतिजाहरु बिहीबारनै सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ ।

भारत सरकारले भने मतगणनाकाे क्रममा हुनसक्ने सम्भावित हिंसाकाे लागि उच्च सुरक्षा सतर्कता अपनाएकाे जनाएकाे छ।

यसैबीच राहुल गान्धीले आगामी २४ घण्टा महत्वपूर्ण भन्दै कार्यकर्ताहरुलाई सतर्क रहन आह्वान गरेका छन् । उनले एक्जिट पाेलकाे दुस्प्रचारकाे पछि नलागि संयमित हुन आग्रह गर्दै भनेका छन्, ‘विश्वास राख्नुस्, हाम्राे मिहिनेत खेर जाने छैन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.