दुई अर्ब लगानी थप्दै क्वेष्ट फर्मास्यूटिकल्स, प्रिमियम मूल्यमा आईपीओ ल्याउने

  २०७६ जेठ ८ गते १०:०५     राजाराम न्याैपाने

काठमाडौं । व्यापार र सेवा मूलक व्यवसायको तुलनामा उद्योग चलाउनु नेपालको सन्दर्भमा निकै कठिन काम हो । तर संघर्षशील उद्यमीहरु पछि हटेका छैनन् । नयाँ नयाँ उद्योग खोल्ने, भएको उद्योगको क्षमता विस्तार गर्ने कार्य जारी राखेका छन् ।

यस्तै उद्योग मध्ये एक हो क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि । औषधि उत्पादक कम्पनीहरु मध्ये अब्बल उद्योगको रुपमा स्थापित यो उद्योगले विरगञ्जमा नयाँ प्लान्टहरु लगाउँदै छ ।

‘हामी इन्जेक्टएवल औषधि उत्पादमा जोड दिदैछौं’ क्वेष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठ भन्छन्–‘हामी नेपालमै अहिलेसम्म उत्पादन नै नभएका थप ५/६ ओटा नयाँ उत्पादनहरु ल्याउने तयारी गरिरहेका छौं ।’

गर्भनिरोधकको औषधि, दमको औषधि, थाइराइडको औषधि, सेक्स हर्मोन, पेड्नीसोलोन, अंकोलोजी तथा एन्टी क्यान्सर लगायत नेपालमा उत्पादन नहुने र पूर्ण रुपमा विदेशमा भर पर्नुपर्ने औषधिहरु उत्पादन गर्ने कम्पनीको तयारी छ ।

नयाँ उत्पादन ल्याउन कम्तिमा २०० करोड रुपैयाँ थप लगानी हुने कम्पनीको प्रारम्भिक अनुमान छ । नयाँ योजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

श्रेष्ठले औषधि उद्योगमा काम गरेको ४२ वर्ष भयो । उमेरले ६ दशक छोएको छ तर उनको जोश र जाँगरमा कमी छैन । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्–‘महासंघको काममा पनि त्यत्तिकै दौडधुप हुन्छ । पहिला जस्तो धेरै काम गर्न सकिदैन । तर, हामीले युवा पुस्तालाई जिम्मेवारी दिईसकेका छौं । जो दैनिक १२/१४ घण्टा खटेर काम गर्छन् । दे वर्क भेरी हार्ड ।’

उमेशलाल श्रेष्ठ

क्वेष्टमा हाल करिव ६०० जना कर्मचारी छन् । २० वर्षको इतिहास बोकेको यस कम्पनीमा कर्मचारीले कहिल्यै हड्ताल गरेका छैनन् । ‘हामी प्रोफेशनली काम गर्छौ । कर्पोरेट कल्चर छ । युवाहरुले नयाँ नयाँ आईडिया ल्याउँछन् । हामी त्यसलाई रिफाइन गरेर कार्यान्वयनमा लैजान्छौं’ कम्पनीको कार्यशैलीबारे उनले संक्षेपमा बताए ।

‘हामीले म्यानेजम्याट युथलाई ह्याडओभर गरिसक्यौँ । स्वामित्व त त्यसै पनि हस्तान्तरण भईहाल्छ’ उनले भने–हामी ५ वर्ष भित्रमा पब्लिकमा जान्छौ ।’

प्रिमियम मूल्यका सेयर निष्काशन गरिने

‘कम्पनीको ड्यूडेलिजेन्स अडिट गर्ने तयारी भईरहेको र डीडीए रिर्पोटको आधारमा प्रिमियम मूल्य तय गरि साधारण सेयर सार्वजनिक निष्काशन गर्छौ’ श्रेष्ठले भने–‘मलाई यस कम्पनीको नेटवर्थ थाहा छ । तर यसको ब्राण्ड भ्यालु मूल्यङ्कन गर्न कठिन छ । यसको लामो विधि हुन्छ । हुनसक्छ यसको ब्राण्ड भ्यालु ५ सय करोड वा १ हजार करोड वा २ हजार करोड रुपैयाँ बराबर आउँला ।’

कम्पनीको हालको पुँजी, नाफासहितको ब्यालेन्ससिटबारे उनी खुलेनन् । तर प्रष्ट वक्ताको स्वभाव उनले देखाईहाले । ‘क्वेष्टको ब्यालेन्ससिट २/३ वटा छैन । कर कार्यालयबाट लिनुहोस् । मैले कति कर तिरेको छु, त्यो पनि हेर्न सक्नुहुन्छ, मेरो कम्पनीहरुले कति कर तिर्छ, त्यो पनि हेर्न सक्नुहुन्छ । गर्नुपर्ने ठाउँमा मैले रिपोर्टिङ गरेको छु । जहाँ जरुरी छैन त्यहाँ किन भन्ने ? पब्लिक भएपछि तपाईले नमागे पनि हामी सार्वजनिक गर्छौै ।’

कम्पनीको व्यापार वृद्धि हरेक वर्ष २५ प्रतिशतभन्दा माथि रहेको उनले बताए । ‘सुरुसुरुमा हाम्रो ग्रोथ १५०/२०० प्रतिशत पनि थियो । पछिल्लो वर्षमा हाम्रो प्रतिवर्ष २५ प्रतिशतले वृद्धि भहिरहेको छ’ उनले भने–‘चालु आर्थिक वर्षमा करिव २०० करोड रुपैयाँ बराबरको कारोबार हुनसक्छ । सन् २०२६ सम्ममा वार्षिक कारोबार १३ सय करोड पुर्याउने कम्पनीको लक्ष्य छ ।’

हाल नेपालको औषधि बजार करिब ४ हजार ५ सय करोडको छ । नेपाली औषधि उत्पादकहरुले बजारको ५० प्रतिशत हिस्सा लिएका छन् । केही उद्योगहरुले औषधि निर्यात पनि थालेका छन् ।

‘हामी अहिले नै निर्यात गर्छौ भनेर भन्दैनौं । तर हामीले बनाउँदै गरेका नयाँ फ्याक्ट्रीहरु लरतरो छैन, कुनै पनि बेला निर्यात गर्न सक्ने क्षमताका उद्योग हुनेछ’ उनले आफ्नो चाहाना र क्षमता दुबै व्यक्त गरे ।

क्वेष्टले तत्कालका लागि कम्पनीले निर्यातभन्दा पनि देश भित्रकै बजार हिस्सा बढाउने योजना बनाएको छ । जुन जुन औषधिमा नेपाल ओभर डिपेन्डेन्ट छ त्यहि त्यहि औषधि उत्पादनलाई कम्पनीले प्राथमिकतामा राखेको छ ।

उद्योग विस्तारपछि किन पुँजीबजारमा ?

सामान्यतय कुनै पनि कम्पनीले क्षमता विस्तार तथा बजार विस्तारको लागि सेयर निष्काशन गर्छ र बजारबाट पुँजी संकलन गर्छ । तर क्वेष्टले उद्योगको क्षमता विस्तारपछि सेयर निष्काशनको तयारी गरेको छ । किन ? हामीले प्रश्न गर्यौं ।

‘बैंक, बीमा कम्पनीको आईपीओमा जस्तो उद्योगको आईपीओमा सर्वसाधारण लगानीकर्ताको भीड हुन्न । त्यसैले हामी राम्रो उद्योग चलाएर, पब्लिकको पूर्ण विश्वास जितेर सेयर निष्काशन गर्छौं’ उनले भने–‘केही उद्योगहरुले सर्वसाधारणलाई सेयर बेचेर भागे । त्यसका नकारात्मक असर नयाँ उद्योगलाई परिरहेको छ ।’ आफू समेत प्रमोटर भएको फ्ल्योर हिमालयन कम्पनी लिमिटेडको सेयर निष्काशन गर्दा ८० प्रतिशत मात्र बिक्री भएको तितो अनुभव पनि उनले सुनाए ।

‘१०० को सेयर ९००मा बेच्न सकियो भने १०० करोडको सेयर निष्काशन गर्दा ९० करोड पैसा आउँछ । यस्तो पुँजीले उद्योगलाई वित्तीय रुपमा बलियो बनाउँछ’ पुँजी बजारमा जान चाहानुको अर्को उदेश्यबारे उनले प्रष्ट पारे । पुँजी थपिएपछि फेरी उद्योगको क्षमता विस्तार गर्न सकिने उनको भनाई छ ।

गत वर्षको बजेटमा १०० करोडभन्दा धेरै पुँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिकमा जान प्रेरित गर्ने सरकारी नीति आयो । हालका प्राइभेट कम्पनी पब्लिक भएमा त्यस्तो कम्पनीलाई आयकरमा १० प्रतिशत फिर्ता दिने सरकारको नीति छ ।

सरकारले नयाँ नीति ल्याउनुपूर्व नै कम्पनीको बोर्डमा पब्लिक कम्पनी बन्ने विषयमा छलफल भएको उनले बताए । ‘सरकारले ट्याक्समा १० प्रतिशत रिबेट दिने भनेपछि लोभले हामी पब्लिक बन्न खोजेको होइनौं । हामी मोर ट्रास्परेन्ट हुन चाहान्छौं । बिजनेसलाई मोर प्रोफेसनल बनाउँदैछौ । नेपाली औषधि उद्योगलाई अन्तराष्ट्रिय स्तरको उद्योग बनाउन चाहान्छौं’ उनले भने ।

विदेशीसँगको साझेदारीको प्रयास

कम्पनीले विदेशी साझेदारीमा एन्टी क्यान्सर तथा अंकोलोजी प्रडक्ट तयार गर्न चाहेको छ । ‘नेपाल जस्तो सानो बजार भएको देशमा वित्तीय साझेदारी भित्र्याउन सजिलो छैन । हामी टेक्निकल पार्टनरसीप खोजिरहेका छौं । रोयल्टी तिरेर ५/१० वर्ष उत्पादन गर्ने, त्यसपछि आफैले नयाँ ब्राण्ड बनाउने विधि पनि हुनसक्छ’ उनले आफ्नो सोच सुुनाए ।

‘हामी जनरल प्रडक्टहरु कम बनाउँछौ । मैले जति सक्दो विश्वमा आएको नयाँ प्रडक्टहरु ल्याउने प्रयास गरिरहेको छु । मैले पुराना प्रडक्टहरुलाई थोरैमात्र राख्ने गरेको छु । विषेश गरी डाइबेटिजका, बल्डप्रेसर, कोलेस्टरल निरोधका औषधिहरु बनाउँछौं । जटिल प्रकारका रोग निरोधका औषधि उत्पादन गर्न ठूलो पुँजी र नयाँ प्रविधिको आवश्यक हुन्छ’ उनले भने ।

नेपालको औषधि उत्पादनमा चीन र भारतको तुलनामा २५देखि ३० प्रतिशत उत्पादन लागत बढी छ । ‘कच्चा पदार्थ, भाडा र नदेखिने खर्चहरु धेरै हुन्छन् । विदेशमा ३ दिनमा काम हुने फाइल नेपालमा ६ महिनासम्म अडकेर बस्छ । यो थाहा पाएपछि विदेशी भाग्छ’ विदेशी साझेदारी भित्र्याउन गरेको प्रयासबारे अनुभव सुनाए ।

भारतमा औषधि उत्पादकलाई ३५ शीर्षकमा अनुदान दिएको छ । नेपालमा यस्तो सुविधा छैन । तर नेपाल सरकारले औषधिका कच्चा पदार्थ र मेसिन लगायतका बस्तु आयातमा करिब २ प्रतिशत मात्र कर लगाएकोमा उनी खुशी छन् । ‘जे जे भएपनि नेपालमा बन्ने औषधिको गुणस्तर पनि राम्रो छ र मूल्य पनि सस्तो छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.