२ वर्षमा नबन्ने भो धरहरा, ५ महिनामा बल्ल १५ प्रतिशत काम

  २०७६ जेठ ७ गते १४:३१     सुनिता पुडासैनी


काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पले गल्र्यामगुर्लुम पारेको धरहरा पुनर्निर्माण शुरु भएको ५ महिना भएको छ । यो अवधिमा १५ प्रतिशत मात्र काम सकिएको छ । अहिलेको कामको गति हेर्दा निर्धारित समयमा काम सम्पन्न हुने छाँट देखिदैन ।

३ अर्ब ४५ करोड रुपैयाँको लागतमा २ वर्षभित्र धरहरा पुनर्निर्माण सक्ने गरी जीआईईटीसी रमन जेभी कम्पनीले ठेक्का पाएको हो । कम्पनीले दैनिक सय भन्दा बढीलाई काममा खटाइरहेको छ । तर, कामको रफ्तारमा स्थानीयवासीले अवरोध गर्ने गरेको आयोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले बताए ।

स्थानीयवासी किन गर्छन् अवरोध ?
धरहरा क्षेत्रमा रहेको पुरानो बाटो चाहिने स्थानीयवासीको माग छ । स्थानीयवासीको माग सम्बोधन गर्न गत शुक्रबार पुनर्निर्माण प्राधिकरण र स्थानीयवासीबीच छलफल समेत भएको थियो । सुन्धारा र काठमाडौं मलबीच पिपलबोट हुँदै हुलाक विभागको बाटो नयाँबाटो खोल्ने बारेमा छलफल भएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

निर्माणस्थल वरपर मानिसको आवत जावत भइरहँदा र पटकपटक स्थानीयको अवरोधले काममा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा असर परिरहेको आयोजना निर्माण सुरक्षा प्रमुख दीपक उपाध्यायले बताए । स्थानीयवासीले बाटोको माग गर्दै पटकपटक अवरोध गर्दा विभिन्न मेसिनरी तथा अन्य निर्माणका सामान ल्याउन लैजान असहज भइरहेको निर्माण पक्षले जनाएको छ ।

के भन्छन् व्यापारी ?
धरहरा निर्माणको क्रम जारी रहँदा प्रवेश गेट बन्द गरिएको छ । जसले गर्दा वरपरका व्यापारी प्रभावित भएका छन् । धरहरा र सुन्धाराबीचको सडक खुल्ला हुुन पर्ने माग स्थानीयको माग छ । धरहरा पुनर्निर्माणको काम शुरु ५ महिनाको अवधिमा ७ लाख घाटा भएको बाजे फास्ट फुट एण्ड फेमिली रेस्टुरेन्टका सञ्चालकले बताए ।

त्यस्तै, विगत १५ वर्षदेखि फेन्सी पसल सञ्चालन गर्दै आएकी अनिशा गिरी भन्छिन्-‘निर्माण कार्यलाई अवरोध गर्ने लक्ष्य होइन, तरपनि यहाँको गेट बन्द भइरहँदा हामी व्यापारीलाई समेत असर गरेको छ ।

भत्किएको झण्डै ४ वर्षपछि शिलान्यास
गएको असार २४ गतेदेखि नै धरहरा पुनर्निर्माणको काम शुरु भएको थियो । तर, पुस १२ गते एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७२ साल फागुन ४ गते ‘म बनाउछु मेरो धरहरा‘ अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुननिर्माणको लागि उपलब्ध गरेका थिए । त्यसको झण्डै चार वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गरेका हुन् । ६ रोपनी क्षेत्रफलमा रहेको प्रधानमन्त्री भीमसेन थापाकालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभाग सहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण हुनेछ ।

२०७३ असार २९ को मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो ।

टेलिकमले धरहरालाई व्यवसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गरेको थियो । टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई नै दिएको हो ।

ऊ बेलाको ११ तले धरहरा
भीमसेन थापाले निर्माण गरेको ११ तलाको धरहरा वि.स १९९० सालको भुकम्पले २ तला भत्किएको थियो भने २०७२ साल बैशाख १२ गतेको भूकम्पले सो धरहरा पूरै भत्काएको थियो ।

यस्तो बन्नेछ धरहरा
निर्माणाधीन धरहरा बाहिरबाट ११ तलाको देखिने, तर वास्तविक रुपको भित्री संरचना २२ तलाको र अन्डरग्राउण्ड दुई तलाको हुने पुननिर्माण प्राधिकरणले जनाएको छ । धरहराको परिसरमा म्युजियम, थिएटर , वाटर फाउन्टेन, रेष्टुरेन्ट, पार्किङसहित आकर्षक बगैँचासमेत बनाइने छ । अब बन्ने धरहरामा भर्याङको साटो लिफ्टमार्फत चढ्ने र ओर्लिने सुुविधा बनाइने छ ।

पुननिर्माण गरिन लागिएको धरहरालाई पुरानै स्वरुपमा बनाइने छ । बाहिरबाट पुरानो देखिएपनि भित्रि भाग भने आधुनिक हुनेछ । भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखिने छ । यसलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ ।

दुई तले बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तबरले भित्र पठाउने व्यवस्था मिलाइएको छ । निर्माणाधीन धरहरा अपाङ्गमैत्री साथै पहिलो दुई तलामा आकर्षक म्युजियम हुनेछ, जहाँ पुराना सिक्का र सिक्का छाप्ने मेसिन राखिनेछ ।

म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङ हुनेछ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.