मार्जिन कारोबारमा ब्रोकरहरुकै अरुचि: राष्ट्र बैंक गएकाहरु नेप्से फर्किएनन्, कसैले डकुमेन्ट पुर्याएनन्

  २०७६ जेठ ७ गते १०:१५     विकासन्युज

काठमाडौं । मार्जिन कारोबार सञ्चालन गर्न ब्रोकरहरुको नै अरुचि देखिएको छ । पुँजी बजारको विकासका लागि कोशेढुङ्गा सावित हुने भन्दै लामो रस्साकस्सीपछि आएको प्रावधान कार्यान्वयन गर्न ब्रोकरहरु उदासिन देखिएपछि प्रक्रिया अघि बढ्न नसकेको हो । यसअघि १८ ओटा कम्पनीले मार्जिन कारोबारका लागि अनुमति पाउन नेपाल स्टक एक्सचेञ्जमा निवेदन दिएकोमा आवश्यक डकुमेन्ट पूरा गरेका ४ ओटा ब्रोकरलाई मार्जिन कारोबार स्वीकृतिका लागि नेप्सेले राष्ट्र बैंकलाई सिफारिस गरि पठाएको थियो ।

नेप्सेको सिफारिससँगै ४ ओटै ब्रोकर कम्पनीहरुले कारोबारका लागि राष्ट्र बैंकको स्वीकृति पनि पाएका थिए । तर राष्ट्र बैंकको स्वीकृति पाएका कम्पनीहरुले फेरि नेप्सेसँग अन्तिम स्वीकृति लिनुपर्ने भए पनि कुनै कम्पनीपनि फर्केर नआएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कागजात पूरा नभएका बाँकी १४ ओटा कम्पनीहरुले समेत पुर्याउन भनिएको प्रक्रिया पूरा गरेर पनि हालसम्म कुनैपनि कम्पनी नआएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘मार्जिन कारोबारका लागि निवेदन दिएकामध्ये केहीलाई पूर्वस्वीकृतिका लागि राष्ट्र बैंकलाई सिफारिस गरिदिएका थियौं, बाँकीलाई डकुमेन्ट र प्रक्रिया पूरा गरेर आउन भनेका थियौं, हालसम्म सिफारिस गरिएका र प्रक्रिया पुर्याउन भनिएका कोहीपनि फेरि आउनुभएको छैन ।’ उनले विकासन्यूजसँग भने ।

किन भएन मार्जिन ट्रेडिङमा आकर्षण ?

मार्जिन ट्रेडिङका लागि शेयरको छनौटमा कडा व्यवस्था भएका कारण मार्जिन ट्रेडिङमा आकर्षण नभएको हो । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मार्जिन कारोबारका लागि ३१ ओटा कम्पनी मात्रै सक्षम देखिएका छन् । नेप्सेमा सूचीकृत २०७ कम्पनीमध्ये बाँकी १७५ कम्पनीहरु शेयर मार्जिन कारोबारका लागि योग्य हुँदैनन् । यस्तो कारोबारका लागि अयोग्य संस्थाको सूचीमा अधिक बजार पूँजीकरण भएका कम्पनीहरु नै धेरै छन् ।

साथै, यस्तो अवस्थामा ३१ कम्पनीहरुका शेयरमात्रै धितोका लागि स्वीकार्य हुन्छन् र सोही कम्पनीका शेयर मात्रै उक्त धितोमा खरिद गर्न सकिन्छ । ‘मार्जिन कारोबारसम्बन्धि प्रावधान निकै नै संकुचित छ, यस्तो अवस्थामा मार्जिन कारोबारको हिस्सा नगन्य मात्रै हुनसक्छ, त्यसैले यसमा आकर्षण नबढेको हो’ एक ब्रोकरल भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.