विच्याट, एलिपेबाट काराेबार नगर्न राष्ट्र बैंककाे निर्देशन

  २०७६ जेठ ६ गते १९:४२     विकासन्युज

काठमाडौं । नेपालमा रहेका विदेशी उद्यमी तथा व्यापारीहरुमार्फत् विदेशी भुक्तानी प्रणालीको प्रयोग गरी अवैध कारोबार गरेपछि नेपाल राष्ट्र बैंकले त्यस्तो काम नगर्न सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले केही भुक्तानी प्रणालीहरुको नामै लिएर त्यस्ता विदेशी भुक्तानी प्रविधिसँग सम्बन्धित प्रणालीहरुको प्रयोग प्रयोग नगर्न भनेको हो । निर्देशनविपरित त्यस्तो कारोबार गरेमा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को व्यवस्थाअनुसार कारबाही गर्ने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।

यसरी हुन्छ, नेपालमा अवैध कारोबार

नेपाल सरकारले लिने कर तथा अन्य शुल्कहरु छल्न तथा नेपाली विनिमयदर परिवर्तनको जोखिम हटाउन हाल विदेशीहरुले अवैध रुपमा कारोबार गर्दै आएका छन् । खासगरी नेपालका विभिन्न स्थानहरुमा रहेका चिनियाँ नागरिकहरुले विच्याट/एलिपे जस्ता एपहरुको प्रयोग गरी क्रसबोर्डर भुक्तानी दिने गरेका छन् । जसको रेकर्ड नेपाल सरकारका कुनैपनि संयन्त्रसँग हुँदैन न त नेपाल सरकारका अनुमतिप्राप्त कुनै संस्थाहरुसँग नै हुन्छ ।

खासगरी ठमेलमा रहेका चिनियाँ होटेल, रेष्टुरेन्ट लगायतले चीनबाट आएका नागरिकहरुसँग त्यस्ता एपहरु प्रयाेेेग गरेर भुक्तानी लिनेदिने गरेको स्रोतले जनाएको छ ।

‘चिनियाँ नागरिकले अर्को चिनियाँ नागरिकसँग नेपालमै कारोबार गर्छ, नेपालमै भुक्तानी दिन्छ तर त्यसको भुक्तानी चाहिँ चीनकै बैंक वा भुक्तानी सेवा प्रदायकसँग हुन्छ, नेपालले केही पाउँदैन । यस्तो प्रवृत्ति अन्य देशमा पनि रहे पनि बढी भने चिनीयाँ नागरिककै अवैध भुक्तानी नियन्त्रण गर्नु हो’ स्रोतले विकासन्यूजसँग भन्यो । यस्तो भुक्तानीले अबैध धन्दा समेत मौलाइरहेको स्रोतको दाबी छ ।

नियन्त्रण कठिन

प्रविधिको प्रयोगमार्फत् गरिने यस्ता भुक्तानीहरुको नियन्त्रण भने कठिन देखिएको छ । नेपाली प्रयासबाट मात्रै यसलाई निमिट्यान्न पार्ने सम्भावना नभएको समेत बताइएको छ । ‘१/२ ओटा घटनालाई त पत्ता लगाएर कारबाही गर्न सकिएला तर क्रेता र विक्रेताबीचको सहमतिमा हुने कारोबारमा सँधै राज्यको पहुँच नहुन सक्छ, कि त्यस्ता सिस्टमहरुलाई नेपालमा प्रतिबन्ध नै लगाउनुपर्यो नत्र यो ज्वलन्त समस्या भइसक्यो’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.