हुवावे मोबाइलमा गुगलको प्राविधिक सहायता बन्द, प्लेस्टोर र जिमेल नचल्ने

  २०७६ जेठ ६ गते ११:५१     विकासन्युज

काठमाडौँ । गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापार सीमित पार्दै उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउने छैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् ।

गुगलका एक प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्ने क्रममा गुगल रहेको बताए । रोयटर्स समाचार संस्थाका अनुसार नयाँ हुवावे स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन् । उक्त समाचार संस्थाका अनुसार हुवावेका नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जिमेल जस्ता सेवामा अब पहुँच पाउने छैनन् ।

हुवावेले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । रोयटर्सले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै कस्ता कस्ता सेवाबाट हुवावेलाई वञ्चित गराइने भन्ने बारे गुगल अझै छलफलरत छ । तर, हुवावेले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ ।

ठूलो प्रभाव
बुधवार ट्रम्प प्रशासनले ह्वावेईलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो । ‘गुगलको तर्फबाट प्रस्ट वक्तव्य नआएसम्म के कस्ता प्रभाव पर्नेछन् भनेर विस्तृत बताउन गाह्रो छ,’ सीसीएस इनसाइट कन्सल्टेन्सीका बेन वुडले बताए । ‘तर यदि रोयटर्सको विवरण साँचो हो भने ह्वावेईको उपभोक्ता व्यापारमा त्यसको ठूलै असर हुनेछ,’ उनले भने।

विश्वभर कैयौँ सरकारहरूले सुरक्षा चिन्ता दर्साउँदै नौलो फाइभजी मोबाइल सञ्जाल विकासमा हुवावेका उपकरण प्रयोग गर्न रोक लगाएका छन् । हालसम्म ब्रिटेनले हुवावेलाई औपचारिक प्रतिबन्ध लगाइसकेको छैन । ‘हुवावेले उसको आफ्नै एप ग्यालरी तथा अन्य सफ्टवेअर विकास गर्न परिश्रम गरिरहेको छ। आफ्नो भाग्य आफैँ निर्धारण गर्न उसले यी सब चीज गरिरहेको मान्न कठिन छैन,’ वुडले भने।

ह्वावेईलाई अल्पकालीन क्षति ?
बीबीसीका प्रविधि सम्पादक लियो केलियोन भन्छन् अल्पकालका निम्ति हुवावेलाई गुगलको निर्णयले क्षति पुग्नेछ । उनी भन्छन्– गुगलको प्लेस्टोरमा पहुँच नभएको स्मार्टफोन किन्न उपभोक्ताहरू हिच्किचाउने छन् ।

तर दीर्घकालमा भने स्मार्टफोन विक्रेताहरूलाई गुगलको अपरेटिङ सिस्टमको भरपर्दो विकल्प निर्माण गर्नेतर्फ गम्भीरतापूर्वक सोच्न यसले बाध्य बनाउन सक्छ । ह्वावेईको हकमा उसले अमेरिकी प्रविधिबाट आफू वञ्चित हुन सक्ने स्थितिको आकलन गरिसकेको जस्तो देखिन्छ ।

उसका स्मार्टफोन आफ्नै स्वामित्व भएका प्रोसेसरबाट सञ्चालित हुँदैछन् तथा गत वर्ष सो कम्पनीका एक वरिष्ठ अधिकारीले छुट्टै अपरेटिङ सिस्टम बनाएको बताएका थिए । तर, जे होस् यो निर्णयले ह्वावेईको सामसुङलाई जितेर सन् २०२० मा नम्बर एक मोबाइल कम्पनी बन्ने लक्ष्यमा भने धक्का पुग्नेछ।

अमेरिकी नीतिको असर
अमेरिकी वाणिज्य मन्त्रालयले ह्वावेईले चिनियाँ सरकारको निम्ति अमेरिकी सञ्जालमाथि जासुसी गर्न सक्ने चिन्ताकामाझ उसलाई कालो सूचीमा राखेको केही दिनपश्चात् गुगलको यस्तो निर्णय आएको छ । नयाँ नियम अनुसार अमेरिकी कम्पनीहरूले हुवावेलाई प्रविधि हस्तान्तरण वा विक्री गर्न अब अनुमति लिनुपर्नेछ । चिनियाँ कम्पनीले ट्रम्प प्रशासनको चिन्तालाई निराधार भन्दै आफू बेइजिङ सरकारबाट स्वतन्त्र रहेको बताउँदै आएको छ। (बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.