भन्सार अधिकृतसहित ३ विरुद्ध अख्तियारले दायर गर्यो मुद्दा, यसरी गरे बद्मासी

  २०७६ जेठ ६ गते ९:०५     विकासन्युज


काठमाडौँ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत दुई अधिकृत र एक नासुलाई जनही रु २० लाख २४ हजार १४१ बिगो भराई प्रचलित ऐनबमोजिम सजायका लागि मागदाबी गरेको छ । आयोगले भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजश्व छली गरेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा तीन कर्मचारीलाई कारवाहीका लागि आयोगले प्रक्रिया अघि बढाएको हो ।

विसं २०७५ जेठ २४ गते भन्सार एजेण्ट दिनेशकुमार बानियाँसँगको मिलेर झुटो प्रज्ञापनपत्र बनाई भन्सार छली गरेको अख्तियारले जनाएको छ । ‘ना ६ ख ५८५९’ र ‘ना ७ ख १७’ नंका मालवाहक ट्रकबाट भन्सार महसुल तथा राजश्व छली गरी मालवस्तु ल्याइएको र र घीउ प्रज्ञापन पत्रमा उल्लेख नभएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले खराब मनसायले सामानधनीसँगको मिलेमतोमा भन्सार महसुल चुहावट गरेको बताइएको छ ।

भन्सार एजेण्ट सङ्केत नं ३५ का दिनेशकुमार बाँनिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रवीन्द्र गुप्ता र वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्तालाई पनि आयोगले कारवाही र बिगो भराइको माग गरेको छ । त्यस्तै हिमालयन कार्गोको सञ्चालिका मधुकुमारी चौधरी र सोही कम्पनीका लागि काम गर्ने विनोदकुमार गुप्ता र राहुलकुमार गुप्ताले प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कारवाहीको माग गरिएको छ ।

राजश्व अनुसन्धान विभागका नायब सुब्बा देवीबहादुर थापाले राजश्व छली तथा चुहावटको सूचना तथा सुराकीका आधारमा अनुगमन तथा अनुसन्धान नगरी नेपाल सरकारलाई हानिनोक्सानी तथा सामानधनीलाई फाइदा पुग्याएको भन्दै सजायको माग गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.