सुगर मिलले भुक्तानी नदिएपछि उखु किसानले शुरु गरे रिले अनशन

  २०७६ जेठ ५ गते १९:२३     विकासन्युज

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आजदेखि मलंगवामा रिले अनशन शुरु गरेको छ । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एण्ड जेनरल इण्डष्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महीनाको बाँकी राखेको रकम भुक्तानीको माग गर्दै मलंगवाको सहिद पार्कमा उखु किसानले आजदेखि रिले अनशन शुरु गरेका हुन् ।

पटक–पटक भुक्तानीका लागि चिनी मिल र स्थानीय प्रशासनसँग आग्रह गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर रिले अनशन गर्नुपरेको संघर्ष समितिले जनाएको छ । तीन बुँदे माग राख्दै उखु किसानले रिले अनशन शुरु गरेको छ । उखु किसानको भुक्तानी तुरुन्त गर्नुपर्ने, बलजफ्ती चिनी मिलद्वारा आफू खुशी कायम गरेको मूल्य ५०० खारेज गरी नेपाल सरकारद्वारा निर्धारित प्रति क्वीन्टल रु ५३६ नै भुक्तानी दिनुपर्ने र उखुको तौलमा प्रति क्वीन्टल २० प्रतिशतसम्म ढालटा (सुख्खा कटी)को नाममा काटिएको रकमसमेत भुक्तानी दिनुपर्ने किसानहरुले माग गरेको छ ।

किसानको नेतृत्व गर्दै रिले अनशनमा बसेका राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रले उद्योगीको रबैयाका कारण किसान मारमा परेका बताए । पटक–पटक ताकेदा गर्दा पनि भुक्तानी दिने छाँट नदेखिएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रेको उखु किसान संघर्ष समिति क्षेत्र नंं ४ का संयोजक राम सोगारथ राय यादवले जानकारी दिए ।

भुक्तानी नपाएपछि घरव्यवहार, शिक्षा, स्वास्थ्य तथा विहेवारीको खर्च ऋण काढेर गर्नु परेको यादवले गुनासो गरे । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उखुको भुक्तानीका लागि उद्योगीलाई आफूले ताकेता गरेको बताए । किसानलाई छिटोभन्दा छिटो भुक्तानी गर्नुपर्छ भनेर आफूले उद्योगलाई भनेको उनले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.