कर्मचारीलाई ३७ महिनाको बोनस ‘बाँड्ने’ जानकी फाइनान्स; ‘पुँजी पुर्याएर अब विकास बैंक बन्छाैं’

  २०७६ जेठ ५ गते १४:५७     विकासन्युज

काठमाडौं । नेपालमै सञ्चालित कुनै संस्थाले आफ्ना कर्मचारीहरुलाई ३७ महिनाको तलब बराबरको बोनस दिनसक्ने क्षमता राख्छ भन्दा अचम्म लाग्नसक्छ । अझ बैंक तथा वित्तीय संस्थामा यस्तो अवस्था देख्नु विरलै हुन्छ । तर नेपालकै एक वित्तीय संस्थाले एक वर्षमा कर्मचारी कर्मचारी खर्चको ३ गुणा भन्दा बढी रकम कर्मचारी बोनसका लागि छुट्याएको छ ।

जनकपुर मुख्य कार्यालय भएको जानकी फाइनान्सले आर्थिक वर्ष २०७४७५ मा कर्मचारी तलब ५४ लाख ६७ रुपैंया खर्च गरेको थियो । सोही वर्षको नाफाबाट फाइनान्सले कर्मचारी बोनसमा भने १ करोड ६९ लाख ७७ हजार रुपैंया छुट्याएको छ । कर्मचारीको तलब खर्चलाई १२ महिनाको खर्च मान्दा कर्मचारी बोनसबापतको रकम ३७ महिना ७ दिन बराबर हुन आउँछ । यो बैंक तथा वित्तीय संस्थाहरुमध्येकै सबैभन्दा बढी हो ।

३७ महिनाको तलब कर्मचारी बोनसमा छुट्टाइए पनि संस्थाका कर्मचारीले प्रत्यक्ष रुपमा पाउने बोनस भनेको ३ महिनाको तलब बराबर मात्रै हो । बोनस ऐनको प्रावधानअनुसार वार्षिक १५ हजार रुपैंयाभन्दा बढी तलब लिने कर्मचारीलाई बढीमा ३ महिनाको तलब बराबर मात्रै बोनस बाँड्न पाइन्छ । ऐनको प्रावधानअनुसार मासिक ५ हजार भन्दा कम तलब लिने कर्मचारीलाई ६ महिनाको तलब बराबर, ५ देखि १० हजारसम्म तलब भएकालाई ५ महिनाको तलब बराबर र १० देखि १५ हजार तलब भएकालाई ४ महिनाको तलबबराबर बोनस दिन मिल्छ ।

फाइनान्सले कर्मचारीलाई छुट्टाएको उक्त बोनसलाई ऐनकै प्रावधानअनुसार खर्च गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंहले बताए । ‘हाम्रा सम्पूर्ण कर्मचारीको तलब स्केल नै २५ हजार रुपैंयाभन्दा माथि छ, त्यसैले बोनस ऐनको प्रावधानअनुसार तीन महिनाको तलब भन्दा बढी बोनस शेयर दिन पाइँदैन । बाँकी रकमलाई हामीले ऐनकै व्यवस्थाबमोजिम कर्मचारी कल्याण कोषमा पठाउन गरेका छौं, ऐनकै व्यवस्थाअनुसार त्यो खर्च हुन्छ ।’ सिंहले विकासन्यूजसँग भने ।

कस्तो छ जानकी फाइनान्स ?

अघिल्लो वर्षसम्म जनकपुरमा मात्रै शाखा रहेको जानकी फाइनान्सकमा सो असार मसान्तको अवधिसम्म १३ जना कर्मचारी मात्रै कार्यरत थिए । अहिले भने फाइनान्सले महोत्तरीको भ्रमरपुरा र र सिराहाको गोलबजार शाखा विस्तार गरी १७ जना कर्मचारी थप गरेर ३० जना पुर्याएको छ ।

फाइनान्सको चुक्ता पुँजी ४९ करोड २१ लाख रुपैंया पुगेको छ, यो फाइनान्सले दिएकोे २२ प्रतिशत बोनस शेयरपछिको चुक्तापुँजी हो । आर्थिक वर्ष २०७४/७५ मा बैंक तथावित्तीय संस्थाहरुले ६१ अर्ब ३३ करोड नाफा कमाएको थियो । नेपाल राष्ट्र बैंकले प्रदेशस्तरका फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी ५० करोड रुपैंया कायम गरेको छ । जानकी फाइनान्सको यो पुँजी पुग्नै लागेको छ । तर पनि फाइनान्सले शाखा र सेवा विस्तारमा आफूलाई सशक्त बनाउँदै जाने लक्ष्य लिएको सीईओ सिंहले बताए । अघिल्लो वर्षसम्म हाम्रो शाखा एउटा मात्रै थियो, यो वर्ष प्रदेश २ मा थप २ ओटा शाखा खोल्यौं, अब अर्को वर्षदेखि शाखा विस्तारलाई थप तीव्रता दिन्छौं’ उनले भने ।

उनले प्रदेश २ का अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मिलेर क्षेत्रीय स्तरको विकास बैंक बन्ने सम्बन्धमा समेत छलफल भएको जानकारी दिए । ‘सेवाको गुणस्तर र प्रभावकारिता बढाउँदै अघि बढ्न अन्य संस्थाहरुसँग एकीकृत भई अघि बढ्नेबारे कुरा अघि बढाएका छौं, क्षेत्रीय स्तरको विकास बैंक बन्न १२० करोड पुँजी चाहिन्छ, कसरी अघि बढ्न सकिन्छ भन्नेबार छलफल भइरहेको छ, प्रदेश २ को नेतृत्व गर्नसक्ने संस्था बनाउने लक्ष्य छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.