एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा, को सँग ?

  २०७६ जेठ ५ गते ८:५४     विकासन्युज


काठमाडौँ । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलिनोरबीच मर्जरको तयारी अगाडि बढेको छ ।

दुवैै कम्पनीको लगानीमा एसियाली मुलुकमा सञ्चालित दूरसञ्चार तथा पूर्वाधार कम्पनीहरूलाई मर्जपछि एउटा छुट्टै कम्पनीअन्तर्गत रहने गरी सञ्चालन गर्ने सहमति भएको छ । मर्जपछि स्थापना हुने कम्पनीको नाम तत्कालका लागि ‘मर्ज्डको’ राखिएको छ ।

मलेसियाको एजियाटाले नेपालको एनसेलसहित मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया गरी छ देशमा दूरसञ्चार कम्पनी सञ्चालन गरिरहेको छ । त्यस्तै युरोपलाई प्रमुख बजार मानेर दूरसञ्चार सेवा उपलब्ध गराइरहेको टेलिनोरले एसियाका पाकिस्तान, बङ्गलादेश, मलेसिया, म्यानमार र थाइल्यान्डमा दूरसञ्चार, पूर्वाधार तथा मोबाइल बैङ्किङलगायत सेवा प्रदान गराउँदै आएको छ ।

मर्जरपछि नेपाल, मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया, पाकिस्तान, म्यानमार र थाइल्यान्डमा हाल सञ्चालित भइरहेका कम्पनीहरू मर्ज्डको ग्रुप अन्तर्गत रहने छन् । यद्यपि बङ्गलादेशमा एजियाटाअन्तर्गत सञ्चालन भइरहेको रोबी एजियाटा लिमिटेड भने मर्जमा समेटिएको छ ।

एजियटा र टेलिनोर दुवैले मर्जरको विषयमा विज्ञप्ति जारी यसलाई पुष्टि पनि गरिसकेका छन् । दुवै कम्पनीका अनुसार वैशाखको चौथो हप्ता यस विषयमा छलफल पनि भएको थियो । छलफलअनुसार मर्जरपछि बन्ने कम्पनीका टेलिनोरको ५६.५ प्रतिशत र एजियाटाको ४३.५ प्रतिशत सेयर स्वामित्व रहनेछ । यसको केन्द्रीय कार्यालय मलेसियामै रहनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.