स्प्रिटको भन्सार २३० प्रतिशत बढाउन व्यवसायी कै लबिङ, मदिराकाे मूल्य कति बढ्ला ?

  २०७६ जेठ ५ गते ८:१८     विकासन्युज

काठमाडौं । ८० प्रतिशत वा सो भन्दा बढी अल्कोहल घनत्व भएको स्प्रिटको आयातमा २३० प्रतिशत भन्सार महशुल वृद्धि गर्न व्यवसायीले सरकारसँग लबिङ थालेका छन् । बजेट निर्माणसँग सरकारले राजश्वकाे दर पनि परिवर्तन गर्ने भएकाेले बजेटकाे पूर्वाद्धमा व्यवसायीहरूकाे सक्रियता बढेकाे हाे ।

केही मदिरा उद्योगीहरुले आगामी आर्थिक वर्षको बजेट मार्फत त्यस्तो स्प्रिट आयातमा प्रतिबन्ध लगाउनुपर्ने र त्यो सम्भव नभएमा २३० प्रतिशत भन्सार महशुल वृद्धि गर्नुपर्ने माग गरेका छन्। उनीहरुले संसदको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मार्फत यस्ताे माग राखेका हुन् ।

उनीहरुको मागबारे समितिले छलफल गरेर प्रारम्भिक राय समेत लिएको छ । ‘स्प्रिटको आयात रोक्दा आत्मनिर्भर हुन्छौं कि हुन्नै भन्ने प्रश्न छ, साथै उपभोक्ताले बढि मूल्य तिर्नुपर्छ कि पर्दैन भनेर हेर्नुपर्ने देखियो’, समितिका सभापति बिमल प्रसाद श्रीवास्तवले भने ।

रक्सीको बजार मूल्य नबढ्ने र नेपाली स्प्रिटको उत्पादनले बजारको माग धान्ने अवस्था रहेमा आयात रोेक्न वा भन्सार महशुस बढाउन कुनै समस्या नहुने पनि उनले बताए ।

एसियन डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी र विजय डिष्टिलरी लगायतका कम्पनीहरुले स्प्रिटको आयात रोक्न लबिङ तिब्र पारेका हुन् । उनीहरुले संसदीय समितिमै उजुरी गरेर आयात रोक्न वा भन्सार दर बढाउन दबाव दिएका हुन् ।

जावलाखेल ग्रुप अफ इण्डट्रिजका प्रमुख कानुन अधिकृत गुरु प्रसाद अधिकारीले स्प्रिटको आयात रोक्नुपर्ने बताए । आयात रोक्न नसकिए भन्सार दर बढाउनुपर्ने उनको भनाई छ । ‘रक्सी नखाएर कोहि नेपालीलाई केहि असर गर्दैन, सकिन्छ आयात रोकौं, नसके भन्सार दर प्रतिलिटर ९९ रुपैंयाँ कायम गरौं’, अधिकारीले भने ।

नेपालबाट भारतमा स्प्रिट निर्यात गर्न प्रतिलिटर १५० रुपैंयाँ तिर्नुपर्ने तर भारतबाट नेपाल आयात गर्दा ३० रुपैंया मात्रै भन्सार दर तोकिनु नै गलत भएको पनि उनले बताए ।

नेपालले भुटानमा स्प्रिट निर्यात गर्न चाहेमा प्रतिलिटर १६० रुपैंयाँ र श्रीलंकामा निर्यात गर्न चाहेमा ५५० रुपैंयाँ भन्सार तिनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । ‘यति न्यून भन्सारमा संसारका कुनै अरु देशमा स्प्रिट आयात गर्न पाइँदैन, त्यसकारण हामीले पनि भन्सार दर बढाउनुपर्छ, नेपाली बजारलाई डम्पिङ साइट बनाइरहन सकिन्न’, अधिकारीले भने ।

उनले स्वदेशी चिनी उद्योगहरुबाट उत्पादित कच्चा पदार्थलाई प्रयोग गरेर स्प्रिटमा आत्मनिर्भर बन्न सकिने अवस्था रहेको पनि दावी गरे ।
गत आर्थिक वर्ष २०७४/७५ मा ८१ करोड ४६ लाख एक हजार ४ सय ३४ रुपैंयाँको स्प्रिट आयात भएको छ । सो मूल्यमा ९२ लाख ९० हजार ९ सय ३१ लिटर स्प्रिट आयात भएको देखिन्छ । जुन प्रति लिटर ८७ रुपैंयाँ ६७ पैसा पर्छ । यस्तो स्प्रिट आयातमा प्रतिलिटर ३० रुपैंयाँ भन्सार दर कायम गरिएको छ ।

यस्तो स्प्रिटको प्रयोग भोड्का, सिग्नेचर, वल्ड दरबार लगायतका ह्विस्कीहरुमा हुने गरेको छ ।

चिनी उद्योगीहरुको दबाबमा सरकारले चिनी आयातमा कोटा तोकेपछि बजारमा चिनीको मूल्य आकाशिएको थियो । अहिले केहि उद्योगीहरुको दबावमा स्प्रिटको आयात रोक्दा रक्सीको मूल्य बढ्न सक्ने सम्भावनालाई हेर्ने समिति सभापति श्रीवास्तवले स्पष्ट पारेका छन् ।

उनले स्प्रिटको आयात रोक्दा वा भन्सार बढाउँदा राजश्व संकलन पनि बढ्नु पर्ने मान्यतामा आफू रहेको पनि बताएका छन् । ‘नागरिकले न्यूनतम मूल्यमा उपभोग गर्न पनि पाउनु परो, साथमा राजश्वमा योगदान पनि वृद्धि हुनुपर्छ, त्यसो भयो भने आयात रोक्न वा भन्सार दर बढाउन कुनै समस्या हुन्न’, श्रीवास्तवले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.