वर्षमा सवा लाख मजदुर जाने मलेसिया एक वर्षदेखि ठप्प, कहिले खुल्छ ?

  २०७६ जेठ ३ गते ८:३८     विकासन्युज

काठमाडौं । नेपाली युवाको मुख्य वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको मलेसियाको रोजगारी गत वर्ष ४ जेठदेखि बन्द छ ।

स्वास्थ्य परीक्षण गर्ने, सुरक्षा जाँच गर्ने र भिसाको प्रक्रिया चलाउने कम्पनी ठगीको कारबाहीमा परेपछि कामदार मलेसिया जान पाएका छैनन् । अहिले एक वर्षअघि नै श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिने मात्रै मलेसिया गइरहेका छन् । गत आर्थिक वर्षमा एक लाख ३७ हजार तीन सय ११ मजदुर मलेसिया गएका थिए । गत वर्षको आठ महिनामा मात्र ७७ हजार चार सय ९६ जना वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । यस वर्षको सोही अवधिमा जम्मा दुई हजार सात सय ११ जना मात्रै मलेसिया गएका छन् ।

नेपालको एक प्रमुख रोजगार गन्तव्य मलेसियाको वैदेशिक रोजगारी रोकिएसँगै समग्रमा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा समेत गिरावट आएको छ । युएई, कुवेत र जापानबाहेकका मुख्य रोजगार गन्तव्यमा जाने कामदारको संख्यासमेत घटेको छ । समग्रमा गत आर्थिक वर्षको आठ महिनामा दुई लाख ४६ हजार तीन सय २४ जना वैदेशिक रोजगारीमा गएका थिए । यस वर्ष सोही अवधिमा एक लाख ५२ हजार १९ मात्रै गएका छन् ।

मजदुरको पाँच अर्ब ठग्नेविरुद्ध अदालतमा मुद्दा परे पनि उनीहरू पाँचदेखि ५० लाखसम्म धरौटी तिरेर छुटेका छन् । ठगीको नेतृत्व गर्ने भिएलएन नेपालका प्रमुख राम श्रेष्ठ जम्मा १० लाख धरौटीमा छुटेका छन् । उनीसँग सरकारले दुई अर्ब ८६ करोड १५ लाख बिगो र सोहीबराबरको जरिवाना दाबी गरेको थियो । उनलाई पाँच वर्ष कैद गर्न पनि सरकारले माग गरेको थियो । तर, १० लाख बुझाएर छुटेका उनलाई नै मलेसियाली दूतावासले भिसा प्रक्रियाको जिम्मेवारी दिएको छ । यसरी दोषीलाई उपयुक्त कारबाही हुन सकेको छैन भने निर्दोष मजदुरको रोजगारी खोसिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.