नेप्से परिसूचक यस वर्षकै उच्च अंकमा, एनसीसी सहित तीन कम्पनीको करोडौंको सेयर किनबेच

  २०७६ जेठ १ गते १५:२९     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक सामान्य अंकले बढेर १३२१ अंकमा पुगेको छ । जुन यस वर्षकै उच्च बिन्दु हो । परिसूचक मंगलबारको तुलनामा ०.४२ प्रतिशत अर्थात ५.५५ अंकले उकालो लागेको हो ।

बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि सुधार भएको छ । बुधबार कुल १७२ कम्पनीको एक अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये विभिन्न तीन कम्पनीको करोडौंको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी एनसीसी बैंकको १४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । चैत मसान्तको वित्तीय विवरण अनुसार हाल बैंक सुधारको बाटोमा लागेकाले लगानीकर्ताहरु यस बैंकको सेयरमा आकर्षित भएका हुन् । बैंकले चालु आवको ९ महिनमा एक अर्ब १६ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । बुधबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल बैंकको १३ करोड २४ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र विशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ७.९७ र ७.७९ प्रतिशत कमाएका छन् । बुधबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता १४९ र १७३९ रुपैयाँ रहेको छ ।

कारोबारमा आएका १२ वटा समूह मध्ये ६ वटा उकालो लागेका छन् भने बाँकी ६ वटा ओरालो लागेका छन् । सबैभन्दा बढी विकास बैंक समूह २५ अंकले उकालो लागेको छ भने उत्पादन मूलक समूह ५९ अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.