शुरु भयो एकल बिन्दु सेवा केन्द्र, ‘अब एकै ठाउँबाट उद्योग सम्बन्धी सबै काम’

  २०७६ जेठ १ गते १२:०६     विकासन्युज


काठमाडौँ । निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्र बुधबारदेखि सञ्चालनमा आएको भएको छ । बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले केन्द्रको शुभारम्भ गरेका हुन् ।

उक्त अवसरमा मन्त्री यादवले एकल बिन्दु सेवा केन्द्र यो सुशासनसँग जोडिएको विषय भएको बताए । कर्मचारीलााई विचार परिवर्तन गर्न आग्रह गर्दै मन्त्री यादवले भने–‘भष्ट्रारा पहिले टेबुल मुनिबाट हुन्थ्यो, अहिले बाहिर बाटै हुन्छ । अहिले भष्ट्राचार चियापानको नाममा हुने गरेको छ ।’ उद्योगीहरुले लगानी गर्न खोज्दा पहिले १२ वटा ठाउँमा जानु पथ्र्यो अब एकै ठाउँबाट हुन्छ-उनले भने ।

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव यमकुमरी खतिवडाले एकल बिन्दु सेवा केन्द्रलाई बिस्तारै डिजिटल बनाउने बताइन् । यो केन्द्रले स्वादेशी र विदेशी दुबै लगानीकर्तालाई एकै ठाउँबाट सेवा दिने सचिव खतिवडाले बताइन् ।

उद्योग दर्ता, प्रवेशाज्ञालगायत विभिन्न आठ प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ सरकारले उद्योग विभागको परिसरमा सो केन्द्र स्थापना गरेको छ ।

गत चैत १५ र १६ गते काठमाडौँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै केन्द्र सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । एकल बिन्दु सेवा केन्द्रले औद्योगिक व्यवसाय ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम उद्योग वा लगानीकर्ताले पाउने सेवा, छुट, सुविधा, सहुलियत वा प्रोत्साहन सरल एवं सहज प्रक्रियाबाट उपलब्ध गराउने छ ।

त्यस्तै सरकारका विभिन्न निकायबाट सम्पादन गर्ने कार्यहरु समयभित्रै एकै स्थलबाट गर्ने तथा उद्योग स्थापनाको अनुमती, दर्ता, विस्तारदेखि निर्गमन (एक्जिट) सम्मका उद्योग प्रशासनसम्बन्धी सेवा केन्द्रबाट प्रवाह गरिनेछ । केन्द्रमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, प्रवेशाज्ञा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून एकाइ रहने छन् ।

केन्द्रमा सहसचिव सरहका एक प्रमुख कार्यकारीसहित ४१ दरबन्दी रहेको हालै प्रकाशित राजपत्रमा उल्लेख छ । केन्द्रमा सेवा प्रवाहलाई सहज बनाउन विभिन्न १४ वटा सरकारी निकायको प्रतिनिधित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.