अब चितवनमै कलेजो प्रत्यारोपण सम्भव, पुरानो मेडिकल कलेजले पायो अनुमति

  २०७६ वैशाख ३१ गते १९:२३     विकासन्युज


काठमाडौँ । काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यका बाहिर चितवनबाट पनि हुने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज(कलेज अफ मेडिकल साइन्स नेपाल)लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो ।

समितिको सचिवालयले सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । समितिका सदस्य सचिव डा. गुणराज लोहनीद्वारा प्रेषित पत्रमा उक्त अनुमति दुई वर्षका लागि बहाल रहने उल्लेख छ ।

पुरानो मेडिकल कलेजले गत मंसिर ३ गते अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयसँग कलेजो प्रत्यारोपण सञ्चालन गर्ने अनुमति माग्दै दरखास्त दिएको थियो । समितिले दरखास्तको जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदन समेतको आधारमा मानव शरीरको अंग प्रत्यारोपण –नियमि¬त तथा निषेध) निर्देशिका, २०७५ को दफा ३ को उपदफा (२), खण्ड ‘ग’मा उल्लेख गरिएअनुसार कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो ।

सन् २०१५ अप्रिल २५ मा पुरानो मेडिकल कलेजले र्मिगौला प्रत्यारोपण गर्ने अनुमति पाएर सफल मृगौला प्रत्यारोपण समेत गरी सकेको छ । सन् २०१५ मै मुटुको सफल ओपन हर्टसर्जरी समेत पुरानो मेडिकल कलेजले गरिसकेको छ । अब पनि मृगौला प्रत्यारोपण र ओपन हर्टसर्जरीलाई निरन्तरता दिईने अस्पतालले जनाएको छ ।

अबको एक दुई महिना भित्र नै कलेजले प्रत्यारोपणको लागि उपयुक्त बिरामीहरु छनोट गरी प्रत्यारोपण कार्य अगाडि बढाइने तथा शुरुको समयमा कलेजले प्रत्यारोपणमा सहयोग गर्नका लागि विश्वविख्यात कोरियन टोली र भारतीय चिकित्सक सहितको टोली आई प्रत्यारोपण गरिने अस्पताल स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.