मुस्लिम धर्मावलम्बीको एक महिना लामो रमदान व्रत शुरु

  २०७६ वैशाख २४ गते १६:०३     विकासन्युज


काठमाडौँ । मुस्लिम धर्मावलम्बीको एक महिना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।

सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिएको हो । हिजरी चन्द्रमाका आधारमा निर्माण गरिने पात्रो हो । हिजरी पात्रोअनुसार नवौँ महीनाको नाम रमदान हो । महीनाकै नामबाट मनाउन शुरु गरिएको यो पर्वलाई हाल रमजान पनि भनिन्छ ।

रमदान महीनाभर मुस्लिम समुदायका मानिस बिहान सूर्योदयअघि नै खाना खाई बेलुकी सूर्यास्तपछि मात्र खाना खान्छन् । सूर्योदयपछि सूर्यास्तसम्म खाना खान नहुने मुस्लिम धर्मशास्त्रीय मान्यता छ । यसरी व्रत बसेका मानिसले महीनाभर नमाज, कुरानलगायत धार्मिक ग्रन्थ पाठ गर्छन् । गरीब, दीनदुःखीलाई दान गर्छन् ।

हिजरी पात्रो अनुसार महिना प्रायः २९ वा ३० दिनका हुन्छन् । यो महीनाको २९औँ दिन बेलुकी चन्द्रमा देखियो भने ३० औँ दिन इद पर्व पर्छ । ३०औँ दिन बेलुकी चन्द्रमा नदेखिए पनि ३१औँ दिन अर्को महीना शुरु हुने भएकाले इद पर्व मनाइन्छ ।

यस पर्वका अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद, मदरसालगायत धार्मिक स्थलमा पूजा पाठ गरिन्छ । नेपालमा २०६८ को जनगणनाअनुसार १२ लाख मुस्लिम छन् । मुस्लिम समुदाय ७७ वटै जिल्लामा फैलिएको राष्ट्रिय मुस्लिम आयोगले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.