कुवेतमा १२५ नेपालीले तलब पाएनन्, काम छाडे

  २०७६ वैशाख २३ गते ८:४२     विकासन्युज


काठमाडौँ । रोजगार करार सम्झौताअनुसार तलब नदिइएको भन्दै कुवेतस्थित इनासको कम्पनीमा कार्यरत १ सय २५ नेपालीले काम रोकेका छन् ।

नियमित तलब नदिएको, दुर्घटनामा पर्ने कामदारलाई बिमाको सुविधा नदिएको र मोटरसाइकलमा पेट्रोल हाल्ने पैसासमेत नदिएको भन्दै उनीहरूले काम छाडेका हुन् । उनीहरू ुबाइक राइडरु हुन् । उनीहरू अधिकांश स्यारोन म्यानपावर कम्पनीमार्फत कुवेत गएका हुन् ।

‘म जनवरी ११ मा कुवेत आएको हुँ । आजसम्म ३९ कुवेती दिनार मात्रै पाएको छु,’ कम्पनीमा कार्यरत मोरङका एकेन्द्र राईले कान्तिपुरलाई भने, ‘हामी जहाँबाट अर्डर आउँछ । त्यहाँ खाना पुर्‍याउने काम गर्ने हो । पछिल्लो समय कम्पनीले तलबसमेत नदिएको मात्र नभई मोटरसाइकल चलाउनसमेत पैसा दिएको छैन । कहाँबाट पेट्रोल हाल्ने पैसा जुटाउने ? कसरी काममा जाने ?’

कामदारहरूले आफूहरूलाई म्यानपावरले सम्झौता गरेर पठाएअनुसार कम्पनीले सेवा सुविधा नदिएको बताए । बाहिर सडकमा मोटरसाइकल कुदाउने काम निकै खतराजनक छ । बिमा कार्ड छैन । कति साथीहरूको त हेल्थ कार्ड र परिचय पत्रसमेत बनाइदिएको छैन, उनले भने, ‘काम गर्न चाहिने न्यूनतम आधार नै बनाइदिएन ।’

कामदारहरूले आफूहरू सामाजिक सेवा गर्न कुवेत नआएको बताए । ‘मैले १ सय २० दिनार पाउने सर्तमा एक लाख ७० हजार रुपैयाँ एजेन्टलाई बुझाएर आएको हुँ । यहाँ पैसा कमाउन आएको हो । कम्पनीको सेवा गर्न होइन,’ राईले भने, ‘पैसा नै नदिने भए किन काम गर्ने ?’

कम्पनीले काम गरेपछि पैसा दिने बताइरहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले कम्पनीको व्यवस्थापनसँग छलफल गरी विवाद समाधान प्रयास भइरहेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.