१२५७ बालबालिका सम्पर्कविहीन, प्रहरी भन्छ-खोज्दैछौँ, तर कहाँ छन् ?

  २०७६ वैशाख २२ गते १९:२९     सुनिता पुडासैनी


काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म २४ सय ८१ जना बालबालिका हराएका छन् । सोही अवधिमा ३६८ बालबालिका वेवारिस अवस्था फेला परेको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ । देशभरीबाट हराएका २४८१ जना बालबालिका मध्ये बालक ७७९ जना रहेका छन् भने बालिका १७०२ जना छन् । हराएका मध्ये १२२४ जना फेला परेका छन् भने बाँकी १२५७ जनाको खोजतलास जारी छ ।

केन्द्रका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा कम संख्या १६६ जना बालबालिकाहरु हराएका छन् भने सबै भन्दा बढी २८८ जना वेवारिस अवस्थामा फेला परेको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

प्रहरी निरीक्षक दाहालका अनुसार ३६८ जना वेवारिस बालबालिका फेला परेका छन्, जसमा बालिकाको संख्या १२९ जना रहेका छन् भने बालकको संख्या २३९ रहेको छ । जसमा २०१ जनाको पारिवारिक पुनर्मिलन गराइएको र १६३ जना संरक्षण गृह छन् । त्यस्तै ४ जना बालगृहबाट भागेका थिए ।

आर्थिक वर्ष २०७५÷०७६ को चैत मसान्तसम्म प्रदेशगत हिसाबमा हेर्दा प्रदेश नं. ३ मा हराए ५३३ जना मध्ये ३१९ जना फेला परेका छन् भने २१४ जनाको खोजतलास जारी छ । त्यस्तै प्रदेश नं १, २, ४, ५, ६, ७ मा क्रमश ४१२, ४१९, २५८, ४०७, २२४, २२८, जना हराएका छन्, जसमा क्रमशः १८४, १४२, २२१, १५९, १९६, ११५, १०९ फेला परेका छन् ।

काठमाडौंका वसन्तपुर र ठमेल सबैभन्दा बढी वेवारिस अवस्थामा बालबालिका भेटिने गरेका छन् । वेवारिस अवस्थामा भेटिने बालबालिका नसामा लठ्ठीएको अवस्थामा फेला पर्ने प्रहरी निरीक्षक दाहालले बताए । घरको आर्थिक अवस्था कमजोर भएका, अभिभावक गुमाएका र कोही भने साथीभाईको लहलहैमा लागेर घरबाट सम्पर्क विहीन हुने गरेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.