निर्माणाधीन अवस्थामै किन भत्किन्छन् सडक ?

  २०७६ वैशाख २२ गते ८:३८     विकासन्युज

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा चारलेन सडक निर्माणाधीन अवस्थामै अलकत्रा सोहोरिने, बीचमै दबिने त्रुटि देखापर्यो । कूल १९ करोड ७० लाख रुपियाँ लागतको उक्त आयोजना मापदण्ड बमोजिम नै सञ्चालन गरिएको ठेकेदार र डिभिजन कार्यालय भरतपुर, चितवनले दाबी गरिरहँदा सडकको डिजाइनमै समस्या रहेको निष्कर्षमा दुवै पक्ष पुगे ।

कालोपत्रे, बेसलाइन र सब बेसलाइनको मोटाइले सडकको भार र ट्राफिक वहन क्षमता थेग्न नसकेको डिभिजन कार्यालय, चितवनमा कार्यरत तत्कालीन इन्जिनियर धर्बेन्द्र झाले बताए । तत्कालै उपचार गरी भार र ट्राफिक वहन क्षमता बढाएर सडकको गुणस्तर स्तरोन्नति गरियो । डिभिजन कार्यालय भरतपुरले चासो लिई थप रकम निकासा गराएर सडकको स्तरोन्नति तत्कालै गर्यो र उक्त खण्ड हाल राम्ररी सञ्चालनमा छ ।

डेढवर्ष अघिको सो घटनापछि सडकको त्यस खण्डको डिजाइन र मापदण्ड दुवै चर्चामा आयो । बिग्रिएको खण्डको उपचारको डिजाइनमा संलग्न विज्ञ डा. पद्म शाही भन्नुहुन्छ, ‘ढल प्रणाली नियमित र व्यवस्थित नहुनु तथा भार वहन क्षमतालाई पूर्वआँकलन नगरी सडक बनाउँदा निर्माणाधीन अवस्थामै समस्या देखियो । ’

चितवनको रत्ननगर नगरपालिकाको सो सडकखण्ड उदाहरण मात्रै हुन् । ग्रामीण र शहरी सडकमा मात्रै समस्या नभई सडक विभाग र सडक बोर्ड नेपालले निर्माण गर्ने राजमार्गको अवस्था पनि भिन्न छैन् । नियमित रेखदेख तथा मर्मतका लागि प्राथमिकतामा पर्नुपर्ने राजमार्गको अवस्था पनि जीर्ण छन् । यातायात विज्ञ डा. शाहीका अनुसार सडक निर्माणको कमजोर गुणस्तर र अत्याधिक भारवहन क्षमताले अधिकांश सडक निर्माण भएको केही समय नबित्दै भत्किँदै गएका छन् ।

सडक निर्माण अघि तयार हुने डिजाइनमा समेत त्रुटि हुँदा कतिपय सडक निर्माण भएको केही समयमै भत्किएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला दाबी गर्छन् ।

गुणस्तर परीक्षण गर्दा निर्धारित मापदण्ड बमोजिम नै सडक बनेको देखियो तर सडक भत्केको बताउनुहुँदै आयोगका प्रवक्ता कोइरालाले ठेकेदार मात्रैलाई दोष दिने अवस्था नरहेको तर्क गर्छन् । आयोगले ऊजुरीको आधारमा निर्माण सामग्रीको परीक्षण गर्न आफ्नै प्राविधिकसहितको प्रयोगशाला प्रयोग गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.