मिडियाको बदलिँदो ‘ट्रेन्ड’ र थपिँदो चुनौती

२०७६ वैशाख २० गते ८:५९ खेम बोलखे

पछिल्लो समय विद्युतीय सञ्चार माध्यमको विकास तीब्र गतिमा भइरहेको छ । मिडियाको विकास हुनु राम्रो पक्ष हो । समयको माग भनौं कि प्रविधिको विकास भनौँ अहिले अनलाइन मिडियाको मार्केट उच्च बिन्दुमा छ । अनलाइन मिडियाले अहिले छापा, रेडियो र टेलिभिजनलाई समेत पछाडि पार्दै अघि बढीरहेको छ ।

टेलिकम्युनिकेशनको क्षेत्रमा भएको विकास, नेपालीहरुमा पनि स्मार्ट मोबाइल बोक्नेको संख्या बढ्दै जानु, फेसबुक, ट्वीटर, ह्वाटसेब जस्ता सामाजिक सञ्जालको लोकप्रियता बढ्नु र यसतर्फ नेपालीहरुको पहुँचपनि बढ्नुले अनलाइन मिडियालाई लोकप्रिय हुन मद्दत गरिरहेको छ । रेडियो सुन्ने, टेलिभिजन हेर्ने र छापा पढ्ने क्रम बिस्तारै घट्दै गएको हो कि ? यसबारेमा ठोकुवा गर्न त अनुसन्धान नै गर्नु पर्ला । तर, सरसर्ती हेर्दा चाँही हातहातमा रहेका स्मार्ट मोबाइलमा सामाजिक सञ्जाल, अनलाइन मिडिया र यूट्यूब च्यानलमा रमाउने नेपालीहरुको संख्या बढेको देख्न सकिन्छ ।

हाम्रो देश कै सन्दर्भ हेर्दा देशमा राणा शासन, पञ्चायती व्यवस्थामा मिडियाको त्यतिबिधि विकास र बिस्तार भएको पाइदैन । त्यतिबेलाका शासनसत्ताले मिडियालाई एक हिसावको बन्देज नै लगाएका थिए । खुलमखुला केही लेख्न नपाइने, लेखेमा जेलनेल हुने अवस्थापनि थियो, त्यो अवस्थाका सामाना गर्ने हाम्रा अग्रजहरु अझैपनि हुनुहुन्छ । पछिल्लो समय २०४६ को जनआन्दोलनपछि मिडियाको संस्थागत विकास तीब्र गतिमा हुँदै गयो र २०६२/०६३ को आन्दोलन पछि त मिडियाले झनै विकास, बिस्तार हुने मौका पाए ।

पछिल्लो समय नेपालमा अनलाइन र यूट्यूब च्यानलको दबदबा जस्तै छ । ती मिडियाहरुले त्यहाँ काम गर्ने पत्रकारलाई पनि राम्रै पे गरिरहेका छन् । विज्ञापन पनि अनलाइन र यूट्यूबहरुले तानेका छन् ।

शुरुमा छापा माध्यमको प्रकाशनले निकै लोकप्रियता कमाएको थियो । घटना भएको एकसातापछि छापामा आउँदा समेत त्यो ताजा र चाखपूर्वक पढिन्थ्यो । पछि रेडियोको यसरी विकास भयो कि छापा माध्यम केही छायाँमा परे कि ? भन्ने जस्तो भयो । तर, रेडियोहरु जुन रुपमा विकास हुनु पर्ने त्यो हिसावले विकास हुन् सकेनन् कि ? यो समीक्षाको विषय हो । कतिपय रेडियो संस्थागत रुपमा विकास हुन सकेनन्, त्यहाँ काम गर्ने क्षमतावान कामदारहरु टिकिरहने अवस्था बन्न सकेन । मिडिया सञ्चालकले टिकाउने अग्रसरता देखाएनन् वा परिस्थिति त्यस्तो बनेन् ? योपनि छलफल कै विषय हो । तर, यो भन्न सकिन्छ कि जसरी नेपालमा एफएम रेडियोको बाढी आयो, जुन प्रकारको क्रेज विगतमा थियो, अहिले त्यो छैन । यो पक्का हो । यो कुरा स्वयम् मिडिया मालिकहरु पनि स्वीकार गर्छन् । टेलिभिजनको क्रेज भने अलिअलि छ, तर टेलिभिजनहरुले जुन रुपमा ग्रोथ गर्नु पर्ने हो, त्यो गर्न सकिरहेको देखिदैन । त्यहाँ काम गर्नेहरु पनि सामाजिक सुरक्षाको अवस्था नबन्दा दिक्दार झै देखिन्छन् ।

पछिल्लो समय नेपालमा अनलाइन र यूट्यूब च्यानलको दबदबा जस्तै छ । ती मिडियाहरुले त्यहाँ काम गर्ने पत्रकारलाई पनि राम्रै पे गरिरहेका छन् । विज्ञापन पनि अनलाइन र यूट्यूबहरुले तानेका छन् । अचेल छापा, रेडियो र टेलिभिजनमा विज्ञापन घटेको देखिन्छ । यो कुरा मिडिया सञ्चालनपनि स्वीकार गर्छन् । छापा, रेडियो र टेलिभिजनमा घटेको बिज्ञापन अनलाइन र यूट्यूब च्यानलतर्फ आकर्षित भएका हुन् कि ? सतप्रतिशत यही हो भनेर ठोकुवा गर्न नसकिए पनि करीब करीब त्यस्तै पो हो कि भन्ने धारणा विकास गर्न भने सकिन्छ ।

नेपालमा मात्र होइन विश्वव्यापी रुपमा नै अनलाइन मिडियाको क्रेज बढ्दै गएको छ । छापा माध्यम स्थगन गरी अनलाइन माध्यम सञ्चालन गर्ने परिपाटी शुरुवात हुन थालिसकेको छ । सञ्चार क्षेत्रका विज्ञ र वरिष्ठ व्यक्तिहरुपनि अब अनलाइलाइनमा भविश्य देखिरहेका छन् । अबको युग पक्कापनि डिजिटाइजेशन कै हो । विश्वव्यापी रुपमा देखिएको यही परिवेशको प्रभाव नेपालमा परेको हो भन्ने कुरामा पक्कापनि दम छ । यो कुरा उल्लेख गरिरहँदा छापा र रेडियो तथा टेलिभिजनको युग अब सकियो, यिनीहरुको प्रभाव नै छैन, लोकप्रियता नै छैन वा अस्थित्व नै छैन भन्न खोजिएको पक्कापनि होइन । तर, अहिलेको अवस्थामा अनलाइन मिडिया र यूट्यूब च्यानलहरुले अरुहरुलाई पनि सोच्न बाध्य बनाइरहेका छन्, यो चाँही सत्य हो ।

नेपालमा मात्र होइन विश्वव्यापी रुपमा नै अनलाइन मिडियाको क्रेज बढ्दै गएको छ । छापा माध्यम स्थगन गरी अनलाइन माध्यम सञ्चालन गर्ने परिपाटी शुरुवात हुन थालिसकेको छ । सञ्चार क्षेत्रका विज्ञ र वरिष्ठ व्यक्तिहरुपनि अब अनलाइलाइनमा भविश्य देखिरहेका छन् ।

यस्तो जमाना पनि थियो, जुनबेला लेटर प्रेसमा फलामका अक्षरले पत्रपत्रिका छापिन्थे । पत्रकारिता पढ्ने स्कूल/कलेज थिएनन् । पत्रपत्रिका लेखिएका समाचार हेरेर, पढेर समाचार लेख्न सिक्ने र सिकाउने गरिन्थ्यो । मोफसलमा मात्र होइन राजधानीको अवस्थापनि झण्डै उस्तै थियो । समाचार हातले लेखेर, स्टिल फोटो धुलाएर स्टीच गरेर खाममा हाली काठमाण्डौका अखबारहरुमा पठाएको अनुभव हाम्रै पुस्तासँग पनि छ । फ्याक्सबाट समाचार पठाएको अनुभव पनि ताजा नै छ । तर, प्रविधिको विकासले अहिलेको अवस्था फेरिएको छ । लेटर प्रेस बिस्थापित भएर अहिले अफसेटमा पत्रिका छापिन्छन्, अब हुलाक र कुरियरबाट समाचार पठाउने होइने, इन्टरनेटको प्रयोग गरी इमेल एकैछिनमा पठाउन सकिने भएको छ । शिक्षाको विकास भएको छ । अब लर्निङ बाई डुइङ मात्रै होइन, औपचारिक रुपमा पत्रकारिता पढेर पनि सिक्न सकिन्छ । पत्रकारिताको औपचारिक शिक्षा लिएर पत्रकारितामा जमेका जमात पनि बढ्दै गएका छन् । यो पुस्ता निराश छ भन्न सकिन्न, किनभने पत्रकारितातर्फको आकर्षण छैन भन्न सकिन्न । केही समय अघि जुन प्रकारको आकर्षण थियो, त्यो छैन होला । तर, आकर्षण नै छैन भन्ने चाँही होइन ।

पत्रकारिताको विकास र बिस्तारसँगै जोखिमपनि बढ्दै गएको आभाष हुन थालेको छ । फेरिपनि अनलाइन र यूट्यूब च्यानलहरु कै कुरा गरौं । पत्रकारितालाई पैसा कमाउने भाँडो त बनाउन थालिएको होइन ? पत्रकारिताको सामान्य ज्ञानसम्म नभएकाहरु पनि अनलाइन चलाइरहेका छन्, यूट्यूब च्यानल चलाइरहेका छन् । सामान्य प्रबिधिको जानकार भएर मात्र पत्रकार बन्न सकिंदैन, यो कुरा बुझ्नु जरुरी छ । केही घटना भइहाल्यो, कोही समस्यामा पर्यो भने अनलाइन र यूट्यूब च्यानवालाहरु क्यामरा लिएर पुगिहाल्छन् । भ्युअर बढ्छन् भन्ने बाहनामा जस्तोपनि भिडियो खिच्छन् र अपलोड गर्छन् । एउटा भिडियो चल्यो भने कुनै समस्याको बारेमा कति हुन् कति च्यानलबाट अन्तरवार्ता लिन पुग्छन्, त्यसले गर्दा पीडामा परेको व्यक्ति थप पीडामा त परेको छैन ? यो कुरा सोच्नु पर्छ कि पर्दैन ?

पत्रकारितामा एक खालको जोखिमपनि छ । समाचार लेखेकै कारण पत्रकारमाथि हातपात भएको छ, अपहरण/वेपत्ता पारिएको छ र हत्या समेत भइरहेका छन् । त्यसकारण पत्रकारको सुरक्षाको सवाल यतिखेर गम्भीर रुपमा उठ्नु जरुरी छ । पत्रकारितालाई अरु क्षेत्रमा केही गर्न नसकेपछि अपनाइने पेशाका रुपमा विकास गरियो भने पनि यस्ता खालका जोखिम बेलाबखत आउन सक्छन् । पाठक तान्ने, भ्युअर बढाउने नाममा छापिने, प्र्रशारण हुने वा अपलोड गरिने अपवाह फैलाउने खालेका समाचार भनिने असमाचारहरुले जोखिमलाई निम्ता दिइरहेका छन् । त्यसकारण चाहे छापा होस्, रेडियो, टेलिभिजन वा पछिल्लो समय हटकेक कै रुपमा रहेका अनलाइन र यूट्यूब च्यानलहरुलाई व्यवस्थित बनाउनेतर्फ नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल जस्ता संस्थाहरुले पनि गम्भीर खालको गृहकार्य थाल्नु अवस्था छ ।

पत्रकारितामा एक खालको जोखिमपनि छ । समाचार लेखेकै कारण पत्रकारमाथि हातपात भएको छ, अपहरण/वेपत्ता पारिएको छ र हत्या समेत भइरहेका छन् ।

मिडियाको विकास र बिस्तारलाई स्वागत गरौं, अबको युग डिजिटाइजेशन कै हो, यसलाई स्वीकार गर्दै अघि बढ्नुको बिकल्प छैन । मिडिया सञ्चालकहरुले पत्रकारको सामाजिक सुरक्षाको सवालमापनि ध्यान दिनु जरुरी छ । र, मुख्य सवाल चाँही यो पेशा गर्दा पर्न सक्ने जोखिम र आउने अप्ठ्यारो पाटोलाई बेलैमा विचार गर्नु पर्छ । किनकी बाँचेर पत्रकारिता गर्ने हो, मरेर पत्रकारिता गर्न र समाजलाई सत्यतथ्य समाचार पस्कन सकिदैन, हैन र ?

बजारमा जनशक्ति अभाव
कुनै समय यस्तो थियो कि सञ्चार माध्यममा अवसर खोज्दै धेरै युवायुवति मिडिया हाउसका कार्यालयमा पुग्थे । तर, अहिले मिडियामा काम गर्नेहरु पाउनै मुस्किल छ भन्छन् सञ्चालकहरु । बजारमा के देखिन्छ भने यता छाड्यो उता गयो, उता छाड्यो यता आयो । यो क्षेत्रमा थोरैको मात्र नयाँ प्रवेश देखिन्छ । सिकारुहरु केही बजारमा देखिन्छन्, तर एउटा स्थापित सञ्चार माध्यमले ती सिकारुलाई लिन चाहँदैन । सिकारुलाई लिएर सिकायो सिकायो, जानेपछि अर्को मिडियामा गइहाल्छ भन्छन् मिडिया सञ्चालकहरु । उनीहरुलाई यसप्रकारको समस्या त होला । तर, मिडियामा दक्ष जनशक्तिलाई मिडिया हाउसले किन टिकाउन सक्दैनन् ? यो विषय चाँही गम्भीर छ ।

बजारमा के देखिन्छ भने यता छाड्यो उता गयो, उता छाड्यो यता आयो । यो क्षेत्रमा थोरैको मात्र नयाँ प्रवेश देखिन्छ ।

मिडियामा काम गर्नेहरुले सधैँ अभाव मै बाँच्नु पर्ने हो त ? के उनीहरुलाई सामाजिक सुरक्षा चाहिँदैन ? ती श्रमजीवी पत्रकारका पनि परिवार होलान, बालबच्चा होलान्, ऊ बिरामी पर्ला । यो बारेमा कस्ले सोच्ने ? मिडिया हाउस, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल वा सरकार कसले जिम्मेवारी लिनु पर्ने हो ? यी प्रश्न जहिलेसम्म अनुत्तरित रहन्छन्, तबसम्म यो क्षेत्रमा आकर्षण बढाउन र दक्ष जनशक्तिलाई मिडियामा टिकाई राख्न अहिले देखिएको समस्या यथावत नै रहन्छ ।

मिडियामा भविश्यः आशा/निराशा
विगतमा मिडियामा सबै खालको जनशक्तिको प्रवेश भयो । अरु कतैपनि काम पाइएन भने मिडियामा प्रवेश गर्ने, पत्रकार बन्ने क्रमपनि थियो । अब समय बदलिएको छ । अब मिडिया पढेर, मिडिया बुझेर मात्र यो क्षेत्रमा प्रवेश गरियो भने भोलि निराश हुनु पर्ने अवस्था आउने छैन । अन्त जागिर नपाउञ्जेलका लागि टाइम पास गर्न आउनेहरुको यो क्षेत्रमा भविश्य छैन, यो बुझे हुन्छ ।

पत्रकार हुनु भएको अरुलाई थर्काएर पैसा कमाउने क्षेत्र होइन, यो पनि बुझ्नु जरुरी छ । आफूमा क्षमता छ भने यही क्षेत्रमा लागेर सामान्य जीवन निर्वाह गर्नका लागि पर्याप्त अवसर छन्, त्यसकारण धेरै निराश भइहाल्नु पर्ने अवस्था पनि होइन । अरुले गर्यो, मैले किन नगर्ने ? उसले पत्रकार भएर यति कमायो, उति कमायो, घर बनायो, गाडी किन्यो, मैले चाँही किन नकमाउने भन्दै अबैध धन्दा गरियो भने ऊ समाजमा पनि त्यति राम्रो गनिदैन । पैसा कमाउला, तर पैसा सबैभन्दा ठूलो कुरा होइन । पत्रकारितता नै गर्ने भने यो कुरा बुझ्नु जरुरी छ । अरुको प्रगतिमा रमाउन सिकौँ, अबैध धन्दा भन्दापनि असल कर्म गर्दै आऊ, असल कर्म गर्दै जाऊ । सफलता मिल्नेछ कुनै दिन ।

विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती
३ मे अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस, हामी यसवर्ष पनि मनाउँदै छौँ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रम तय गरिएको छ ।

नेपालमा विश्व प्रेस स्वतन्त्रता मनाउँदै गर्दा प्रेस स्वतन्त्रता हननका घटनामा भने कमी आउन सकेको छैन । नेपाल पत्रकार महासंघका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन् । सालभरिका प्रेस स्वतन्त्रता हननका ६० घटनामा ७७ जना पत्रकार र पाँच सञ्चार संस्था पीडित भएका छन् । यी घटनामध्ये एक पत्रकारको हत्या र एक बेपत्ता छन् ।

यसैबीच, पत्रकार पक्राउका १२ र पत्रकारमाथि दुव्र्यवहारका १२ घटना अभिलेख भएका छन् । त्यसैगरी पत्रकारमाथि धम्की १३, आक्रमणका १५ घटना रहेका छन् । समाचार सङ्कलनमा अवरोधका दुई र समाचार प्रसारण अवरोधका तीन घटना भएका छन् ।

गत वर्ष यसै अवधिमा ६३ वटा घटना भएका थिए । यस वर्ष अनलाइन सञ्चारमाध्यममा समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गर्ने क्रम बढ्नुले नेपाली पत्रकारितामा नयाँ चुनौती थपिएको छ । देशमा गणतन्त्र आएपछि धेरै खालका परिवर्तन भएका छन् । तरपनि पछिल्लो समय विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रता माथिको चुनौती थपिदिएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरिए पनि गत २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी (संहिता), फौजदारी (संहिता) सम्बन्धी ऐनका विभिन्न दफाले प्रेस स्वतन्त्रतालाई सङ्कुचन पारेको बताउँछन् । त्यसकारण पत्रकारहरु आजको दिनमापनि आन्दोलित भइरहेका छन् ।

प्रेस काउन्सिलका अनुसार इन्टरनेटको विस्तार बढेसँगै नेपालमा अनलाइन मिडियाको संख्या गत चैतसम्ममा एक हजार ६०० पुगेको छ । अनलाइन मिडिया र सामाजिक सञ्जालको पहुँच भएसँगै जनताको अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा उल्लेखनीय सहयोग भएपनि डिजिटल मिडियामाथि बढ्दो नियन्त्रणले भने चुनौतीपूर्ण वातावरण सिर्जना भएको छ ।