ललितपुर महानगरले पर्यटकलाई सुबिधा दिन विद्युतीय बस सञ्चालन गर्ने

  २०७६ वैशाख १८ गते १५:०३     विकासन्युज


ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ ।

यस वर्षको बजेटमा महानगरले रु पाँच करोड विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो । भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सञ्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन् । उनका अनुसार बस सञ्चालनले विशेष गरेर असाहय, वृद्ध र अपाङ्गता भएका पर्यटकलाई सुविधा हुनेछ । उनले भने, “बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पुर्याउने हाम्रो लक्ष्य हो ।”

पुल्चोकबाट मङ्गलबजार र पाटनढोकाबाट मङ्गलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले बताए । पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने उनले बताए । उनले भने, “अध्ययन प्रतिवेदनका आधारमा छिट्टै सञ्चालन गर्ने योजना छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.