कर्मचारीको तलब ३० प्रतिशत बढाउनु पर्छ, यस्ता छन् १६ कारण

  २०७६ वैशाख १६ गते १९:३१     भीम प्रसाद उपाध्याय

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । त्यत्रो समय र लगानी खर्च गरेर देश विदेशमा बर्षौं लगाएर घुंडा धसेर १६।१६ वर्ष पढेर, तालिम लिएर, गॉउगॉउ कुना कन्दरामा बसेर, घर परिवार त्यागेर , अध्ययन सक्याए पछि लोकसेवा लड्दै पास गरेर सुरु गरेको सरकारी जागीरमा के छन् त सुबिधाहरु ? न बस्नलाई राम्रो डेरा छ । न बालबच्चा पढाउनलाइ राम्रो स्कूल छ । न खेल्ने मनोरंजन गर्ने कुनै साधन छ । न कुनै पुस्तकालय छ । न पत्रिका छ । न टेलिफोन ईन्टरनेट छ । न टिभी छ । न हेलिकप्टर सेवा छ, न नियमित हवाईजहाज छ । न मोटर चल्ने सडक छ । न गाडी छ, न अस्पताल डाक्टर छ । ईमर्जेन्सी परेर रोगले च्याप्यो भने राम भरोसे हुनुपर्छ । सधैं परिवारसंग अलग्गिएर, सरकारी जागिर आजसम्म खाएकाहरू अझ अलिकति दुर्गम ठाउमा नियुक्ति पाएका अधिकॉश कर्मचारीले यस्तै जागिरे जीवन व्यतित गरेका हुनुपर्छ ।

मैले ईन्जिनियरको जागिर ०४३ सालमा सुरू गर्दा एक हजार तीन सय रुपैँया मेरो तलब थियो । त्यतिबेला करिव यो एकसय डलर बराबर हुन्थ्यो । त्यो पैसाले आधा तोला सुन आउथ्यो । झन्डै तीस वर्षपछि विशिष्ट श्रेणीको सचिव भएर जागिर छाड्दा रू ५१ हजार तलब बुझें, यो ५०० डलर बराबर र १२ आना सुन किन्नसम्म पुग्छ । जागिर सुरू गर्दा एक्लो थिए, जागिरको अन्तिमतिर हुर्केका परिवार चार जनाको भयो ।

नेपालको विकट भूगोल र असुविधामा न्यून तलबको सरकारी जागिर खानु दुस्साहस सरह नै लाग्छ मलाई अहिले सम्झदा । जाजरकोट, डोटी, बैतडी, गुल्मी त्यो वेलाको । तर अचम्म लाग्छ, म कसरी टिकेछु जागिरमा, यही मुलुकमा, आजसम्म पनि कसरी टिक्न सकें ? फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ घरिघरी । अलिकति नयाँ पुस्ताको नजर बाट नेपाल सरकारको तलवमानलाई हेर्ने हो भने नयाँ पुस्ताले गर्ने साधारण पकेट खर्च जस्तो देखिन्छ यहॉको सरकारी तलव ।

मेरा दौंतरी ब्रिलियन्ट साथीहरू अधिकांस विदेश पलायन भए । मलाई पनि उकास्थे विदेश आउन तर के भयो के, गईन, यही लडन्तभिडन्त गरियो । के गरियो, गर्न सकियो वा सकिएन वा गरिएन । अहिले मतलब पनि छैन। सन्तुष्ट नै छु आजका दिनमा । मेरो नजरमा जे कुरा राष्ट्रसेवा थियो त्यो मैले गरें । देश सेवालाई पारिश्रमिकसंग तुलना गरिएन अथवा थोरै पारिश्रमिकमा पनि कर्तव्यबोधको कारणले गर्दा चित्त बुझाइयो, अथवा यस्तै केही भयो ।

तर दुःख लाग्छ आफ्नै बालबच्चा नेपाल बस्न योग्य हुन छाडेको छ, नयाँ पुस्ता सरकारी जागिरमा आकर्षण देख्दैनन् । विदेशमा मनग्यै अवसर देख्छन् किनभने नेपाल बस्नु पेशा हैन, त्याग मानिन्छ। जीवनभरि ईमान्दार बनेर अन्तिममा भीखमंगा सरह हुनुपर्छ, न आफ्नो न परिवारको भरणपोषण गर्न सकिन्छ, न अवकाश पछिको जिन्दगीलाई सुरक्षित नै पार्न सकिन्छ । जागिरे भनेको कुनै सामाजिक ईज्जत नभएको सन्यासी र जोगी जस्ता निरीह देखिदै गईरहेका छन् नयाँ पुस्ताका नजरमा ।

तर अहिलेका पुस्ताको सोच छ, त्याग गर्न नपरेसम्म किन त्याग गर्ने ? के कालागि गर्ने ? भन्ने भनाई पनि सही नै हो । नयाँ सोचले नयाँ पुस्ताको जीवनस्तर पनि नयाँ खाले नै बनाएको छ । उनीहरु छातीमा ठुलो देशप्रेम बोकेर बिदेशिएका छन् । देशको सम्झना गर्दै स्तरीय कमाइ गरेका छन् । केही युवाहरु पछुताएका पनि होलान् , देश भित्रै केही गर्न सकिएन भनेर  । तर जति पलायान भएका छन् ती व्यक्तिहरु प्रायः सन्तुष्ट छन् ।

युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलव किन बढाउने ?

१) सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले ।
२) नेपालको जीडीपी विगत दश/पन्ध्र वर्षमा दुगुणा भएर एक हजार डलर पुगेको छ त्यसैले ।
३) बजारभाउ बार्षिक ६ प्रतिशतले बढेको छ भने मुद्रा अवमूल्यन १० प्रतिशत भैरहेको छ ।
४) आगामी ५ वर्षमा जीडीपी दुगुणा गर्ने र कृषि उत्पादन पनि दुगुना गर्ने सरकारको लक्ष छ ।
५) बौद्धिकवर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुदा विदेश पलायन हुने भय रहन्छ ।
६) तलब कम हुदा प्रतिभावान र सहरिया सक्षम युवा जागिरमा आकर्षित नभई दिदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान युवाको कमि हुन लागिरहेको छ ।
७) न्युनतलबले अनियमित आम्दानी गर्न उक्साई रहेको र घरपायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाब थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाईरहेको छ ।
८) जीविकोपार्जन गर्ने प्रर्याप्त तलब दिन सक्दा मात्र ईमान्दार र सक्षम कर्मचारीले गलत तत्वसंग भिडेर सरकारी संयन्त्रलाई सफा राख्ने ऑट देखाउन सक्ने हुन्छ। अतिरिक्त पैसा कमाउन नेताको घरघरमा प्रि/पोस्ट पेमेन्ट गर्ने कुसंस्कार हट्नेछ। साथै कर्मचारीहरू मन्त्री नेताहरूसंग राष्ट्रहितमा ऑखा जुधाएर काम गर्न सक्नेछन् ।
९) पर्याप्त तलब भएमा मुलुक भित्रै बस्ने, अनुकूल उत्प्रेरणा जागेर घरपरिवार बूढाबूढीहरूको हेरचाह र आफू बूढाबूढी हुदा पनि समाजको सामिप्यमा बालबच्चाको हेरचाह पाउदा समाजमा खुशी शान्त र सुखी आदर्श महसुस गर्नेछ ।
१०) तलबमानको भिन्नता पनि सबैभन्दा तल्लो र सबैभन्दा माथिल्लो पदबीच करिब ५ देखि १० गुणा हुनुपर्छ । करियर भनेको आर्थिक दृष्टिले परिश्रमको सम्मान पनि हो । कर्मचारी हुं भन्दा देश विदेशमा लाज मान्नुपर्ने स्केलको तलबमानले आत्म सम्मान दिदैन ।
११) तलब भीख हैन, बौद्धिक परिश्रमको मूल्य हो । थोरै तलब हुनु परिश्रम गर्न नसक्ने, नालायक, उत्पादकत्व नभएको, कमजोर, अक्षम जनशक्ति हो भन्ने बुझाउछ ।
१२) विदेशीको अगाडी नेपालीको बुद्धि नै हुदैन भन्ने स्तरको तलबले आत्मसम्मान र स्वाभिमान गिराउछ । शीर उचा राख्न आफ्नो तलब सार्वजनिक गर्न लाज नमान्ने हुनुपर्छ ।
१३) जागिर पेशा हो र जुनकुनै पेशाले पनि जीवन परिपूर्ण पार्न सक्ने हुनैपर्छ । बलिदान, त्याग , जीवनभरि पिलन्धरे रूवाई, पद्दलित , टीठलाग्ने, र जसले पनि भ्रष्ट नै हो भन्ने हालको वातावरणलाई हटाईएन भने राज्य संचालनको केन्द्रविन्दू चालक रहने कर्मचारीबिना मुलुक उंभो लाग्दैन । दूध खान मन हुनेले गाईलाई हरियो घॉस र दानापानी पर्याप्त दिनुपर्छ नत्र कर्मचारी पनि दूध थोरै दिने काठे गाईलाई सरापे जस्तो हुनेछ ।
१४) पुग्ने तलब दिईयो भने मात्र गलत, कामचोर, भ्रष्ट कर्मचारीलाई सरकारले सजाय दिन वा हटाउन नैतिक अधिकार रहने हुन्छ । कर्मचारीलाई गलत काम गरेकोमा गालीमात्र गर्ने हैन कि सही काम गर्ने पूर्वाधार पनि बनाईदिएकै हुनुपर्छ ।
१५) सरकार तलबबारे यसमा केही गर्न असमर्थ छौं, सक्दिन भन्छ भने त्यो सरकारका अरू सबै लक्ष पनि हावादारी नै हुनेछ, त्यसमा पनि उसले केही गर्न सक्नेछैन ।
१६) चालकरूपी कर्मचारीलाई भोकभोकै राखेर हाईवेमा तीब्र गतिमा गाडी हाक भन्दै पेसेन्जरसहित गाडीलाई त्रिसुलीमा जाक्नुसरह हो, त्यही गर भनेसरह हो ।

त्यसैले निजामति सेवा ऐनमा प्रत्येक २ वर्षमा मुल्यवृद्धिका आधारमा कर्मचारीको तलब समायोजन गर्ने लेखिएको हो । तलब आयोगहरूले पनि यसै बमोजिम तलब पुनरावलोकन गर्नुपर्ने सिफारिस गरेका हुन । तर सरकारले कहिल्यै ऐन र तलब आयोगहरुका सिफारिस अनुसार तलब वृद्धि गरेको छैन ।

नेपालमा कर्मचारीको तलब निर्धारणमा यथेष्ठ बेथितीहरु छन् । तल्लो र माथिल्लो पदका कर्मचारीहरुको तलबमा खासै फरक छैन । तल्लो तहको कर्मचारी र माथिल्लो तहकाबीचमा करिब २.५ देखि ३ गुणा मात्रै तलब स्केल बढी छ । औषतमा मुद्रास्फिति १० प्रतिशतको हाराहारीमा हुने गरेको छ । त्यस हिसाबले हेर्ने हो भने ३ बर्षमा कर्मचारीको तलब ३० प्रतिशतले बढाउनु न्यायसंगत हुन्छ ।

भारतमा सचिवको तलब २ लाख ७० हजार भारू छ । कार्यालय सहयोगीका तलब करिब २५ हजार छ । तर नेपालमा सचिवको तलब जम्मा ५१ हजार छ र कार्यालय सहयोगीका १८ हजार रुपैंयाँ छ । यसले त कर्मचारीलाई क्षमता अनुसार पेट पाल्न पुग्ने भत्ता मात्रै भयो । तलब बृद्धि गर्दा तलब आयोगका सिफारिस लागू गर्नुपर्छ । तलबलाई निर्वाह भत्ताका रुपमा हैन, बौद्धिक पारिश्रमिकका रुपमा लिईनुपर्छ ।

नेपालमा कर्मचारीको तलब नै ज्यादै कम भयो । अर्को कुरा तल्लो तह र माथिल्लो तहका कर्मचारीको स्केल पनि उपयुक्त भएन । भारतमा तल्लो तहका कर्मचारी र माथिल्लो तहका कर्मचारीको तलबमा ५ देखि १० गुणासम्मको फरक हुन्छ । मुलुकलाई सुशासन दिने अधिकृतको नेतृत्वले हो, तर नेपालमा भने अधिकृतहरुको तलब नै जोखिम लिएर काम गर्ने खालको भएन । माथिल्लो पदमा बौद्धिक परिश्रम, साहस र आर्थिक स्वतन्त्रता हुनुपर्छ, यसका लागि तलब ह्वात्तै बढाउनुपर्छ ।

तलबमा समाजबादी समानता काम लाग्दैन, जुन देशमा बजार भाउ केहीमा कुनै नियन्त्रण र सेवा सुविधामा कुनै विशेष सहुलियत छैन । तर माथि न्युनतम १ लाख तल २५ हजार गरेर ४ गुणा पुर्याउने र यसलाई ३ वर्षमा ६–१० गुणा पुर्याउनुपर्छ । निजामति जागिर सम्मानीत हुनुपर्छ र प्रतिभावानका लागि आकर्षक हुनैपर्छ । जीवन गुजाराका लागि हैन, बुद्धि र परिश्रमका लागि तलब हुनुपर्छ।

(भीम प्रसाद उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.