नेपाल वायुसेवा निगमको जापान उडान असार १९ देखि

  २०७६ वैशाख १५ गते ८:३५     विकासन्युज

काठमाडौँ । करिब १५ वर्षपछि नेपाल वायुसेवा निगमले जापानमा पुनः उडान सुरु गर्ने भएको छ । जापान उडानको सम्पूर्ण प्रक्रिया पूरा भएसँगै निगमले आगामी असार १९ गतेदेखि उडान गर्ने भएको हो । उडानका लागि जापानको नागरिक उड्डयन ब्युरोले हालै अन्तिम स्वीकृति दिएपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार निगमको जहाजले पहिले जापानको सबैभन्दा ठूलो बन्दरगाहसहितको सहर ओसाकामा उडान गर्नेछ । निगमका अनुसार हप्तामा मङ्गलबार, बिहीबार र शनिबार ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान हुनेछ । डेढ दसक अघिसम्म नेपालले जापान उडान गरेको भए पनि त्यसयता सीधा उडान हुन सकेको थिएन । बर्सेनि जापान जाने नेपालीको सङ्ख्या बढेसँगै सरकारले त्यहाँ सीधा उडानको प्रयास पछिल्लो समय गरेको थियो । सोअनुसार गत वर्षको असार ४ गते जापानसँग २५ वर्ष पुरानो हवाई सम्झौता नवीकरण भएको थियो ।

दुई देशबीच भएको उक्त सम्झौताअनुसार नेपालले हानिदाबाहेक अन्य समय विमानस्थलमा उडान गर्न पाउने छ । त्यस्तै पुरानो सम्झौतामा हप्तामा तीनवटा मात्र उडान गर्न पाउने सुविधा उपलब्ध भएकोमा पछिल्लो सम्झौताबाट त्यसको सङ्ख्या हप्तामा १४ वटा पुगेको छ ।

सन् १९९३ को पुरानो सम्झौतामा बोइङ ७२७ र ७५७ सिरिजका जहाजमात्र उडान गर्न पाउनेमा अहिले भने अन्तर्राष्ट्रिय उडान गर्नसक्ने जुनसुकै ब्रान्ड र संस्करणका जहाज नेपालले जापान उडान गर्न सक्नेछ । निगमले असारमा गत वर्ष खरिद गरेको एयर बस कम्पनीको वाइडबडी जहाजमार्फत उडान गर्दैछ । ओसाका उडानका लागि निगमले त्यहाँ आफ्नो कर्पोरेट कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।

जापानसँग पछिल्लो पटक हवाई सम्झौताअनुसार प्रक्रिया अघि बढाए पनि त्यसको एक वर्षपछि मात्र उडान सम्भव भएको हो । पछिल्लो पटक ओसाकाको कान्साई विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराइरहेको सीकेटीएसले निगमलाई अनुमति नदिएपछि प्रक्रियामा केही ढिलाइ भएको थियो ।

गत चैतको दोस्रो साता नेपाल र जापानका प्रतिनिधिबीचको वार्ता सकारात्मक भए पनि जापान उडानको प्रक्रिया सहज भएको थियो । वार्ताअनुसार निगमले जापानको उड्डयन ब्युरोलाई आवश्यक कागजात उपलब्ध गराएको थियो । त्यसैअनुसार त्यहाँबाट स्वीकृति पाएपछि निगमले आफ्नो उडान तालिका सार्वजनिक गरेको हो ।

ओसाकादेखि ३ सय ९७ किलोमिटर दूरीमा रहेको जापानको राजधानी टोकियो करिब ४५ मिनेटको हवाई यात्रापछि पुग्न सकिन्छ । निगमले हाल विभिन्न आठवटा स्थानमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.