नेपाली वस्तुको ब्राण्ड बलियो भए अनलाइन सपिङ्को असर पर्दैन

२०७६ वैशाख १४ गते १५:१९ अमृतमान तुलाधर

अमृतमान तुलाधर, ई-कमर्श विज्ञ

उपभोक्तासम्म वस्तु प्रवेशलाई तीव्र बनाउन अनलाइन सपिङ प्रविधियुक्त युगमा अत्यधिक प्रयोगमा आएको बजारीकरणका उपकरणको नामले परिचय पाउन सफल हुँदै गएको छ । आजकल नेपालीहरू घरमै बसी-बसी अनलाइन सपिङ मार्फत सामान खरिदमा अभ्यस्त हुन थालिसकेका छन् । यसले समयको बचत त हुन्छ नै, बजार मूल्यभन्दा केही सस्तो दरमा सामग्री उपलब्ध हुने लोभले समेत अनलाइन सपिङतर्फ ग्राहक आकर्षित हुन थालेका छन् । स्थानीय बजारमा मुन्चा, दराज, नेप्वे, सस्तो-डिल लगायतका दर्जनौं कम्पनी मार्फत इलेक्ट्रोनिक्स, गार्मेन्टस, लगायतका विभिन्न विदेशी सामानका खरीदकर्ताको भीड लाग्ने गर्दछ । अनलाईन मार्केटीङले नेपाली बजारमा आयातीत वस्तुले वर्चस्व पाउन पाउन थालेका छन् । किनकि गार्मेन्टस लगायतका उपभोग्य वस्तुका नेपाली लोकप्रिय ब्राण्ड उपलब्ध नभए पछि त्यसको फाइदा विदेशीको पोल्टामा पुग्ने गरेको छ ।

नेपाली च्याङग्रा पस्मिना, ह्याण्ड मेड कार्पेट जस्ता लोगो विदेशी बजारमा प्रचलित भएपनि स्थानीय बजारमा भने बाक्लो उपस्थिती छैन । यदा कदा फेवारनेपाल पस्मिनाको नामसम्म सुन्न पाइए पनि ती कम्पनीका उत्पादनका गुणस्तर यकिन हुने वैज्ञानिक संयन्त्र उपलब्ध छैन । तर यदि ब्राण्डको बजारमा बलियो उपस्थिति भए अनलाइन सपिङमा नेपाली उत्पादनले प्राथमिकता पाउनेमा विश्वास गर्न सकिन्छ । नेपालमा सञ्चालित उत्पादनशील उद्योगहरूले समेत ब्राण्ड विकासलाई प्राथमिकता दिएको पाईदैन । त्यस कारण मुञ्चा डट कमले पछिल्लो पटक नेपाली निर्यातजन्य उत्पादन अन्तराष्ट्रिय बजार लक्षित माटो डट कमको सुरुवात गरेको छ । यस साइटबाट उच्च गुणस्तरीय र महँगा निर्यात जन्य बस्तुको मात्र बिक्री तथा प्रवर्धन गरिने छ ।

अनलाइन सपिङबाट उपभोक्ताका लागि खरिद प्रक्रिया सहज भएपनि स्थानीय पसले र उत्पादकहरूको टाउको दुखाई बन्ने गरेको छ । त्यसो त गार्मेन्टस् तथा जुत्ता लगायतका सामाग्री खरिद पछि मन नपरेमा साट फेरको सुविधाले समेत अनलाइनतर्फ ग्राहक संख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । अर्को तर्फ अनलाइनमा उपलब्ध वस्तुको बजार मूल्य भन्दा सस्तो हुने गर्दछ । यही मूल्य प्रतिस्पर्धाका कारण छिमेकी मुलुक भारतका सयौं अनलाइन कम्पनी सञ्चालन खर्च बटुल्न नसकेर अर्को कम्पनीसँग मर्जर हुन बाध्य भएका थिए । भने त्यहाँको फराकिलो बजार देखेर भित्रिएका बहुराष्ट्रिय कम्पनीहरु सँग मर्जर हुन पुगेका सयौँ उदाहरणहरु छन् ।

बहुराष्ट्रिय अनलाईन सपीङ्ग एमाजोन लगायतका कम्पनीहरु उच्च बजार हिस्सा बटुल्नका लागि लगानी वृद्धि गर्दै लगेका छन् । त्यसको फलस्वरुप बजार दायरा फराकिलो बनाउने प्रतिस्पर्धामा साना लगानीका कम्पनी बजारमा टिक्न नस्कने अवस्थामा पुगीसकेका छन् । कम्पनीको ब्राण्ड स्थायीत्वलाई उच्च बनाउनका लागि अनलाईन मार्केटिङ कम्पनीहरुले बजार मुल्य भन्दा सस्तो दरमा सामान बच्ने गर्दछन् । तर ती विदेशी कम्पनीसँग गाभिँदा त्यस क्रममा भएको सम्पूर्ण घाटा उठने गर्दछ । यसरी गाभिने दोस्रो कम्पनीका नराम्रो पक्ष मध्ये सम्पूर्ण ग्राहक र प्रसासनको पकड अर्को कम्पनीमा समेटिनुलाई लिन सकिन्छ ।

छिमेकी मुलुक भारतमा मिन्त्रा जस्ता स्यानो लगानीका कम्पनीहरूको आक्रमक बजारीकरणबाट लोभिएर फिल्पकार्डले उसको सबै सेयर खरीद गरी भारतीय बजारमा प्रवेश गर्न सफल भएको छ । भने फराकिलो बजार हिस्सा बनाउन सफल भएको जबोङ बजारमा टिक्नै नस्कने अवस्थामा पुगीसके पछि बाध्य भएर त्यहि फिल्पकार्डसँग ५० मिलियन अमेरीकी डलरमा बिक्री हुन पुगेका थिए । भने अर्कोतर्फ वालमार्टले फेरी फिल्पकार्डको करीब ८० प्रतिशत सेयर खरीद गरी अत्याधिक सम्भावना भएको सार्क राष्ट्रका बजार प्रवेश गर्न सफल भएको छ । अनलाइन सपिङ कम्पनीका पहिलो रणनीति बजार विकासबाट शुरु हुने गर्दछ । सस्तोमा सामान उपलब्ध गराउने हुँदा पसले र मुख्य उत्पादनकर्ताबीच दुरी उत्पन्न समेत हुने गर्दछ । यसले स्थानीय पसलेको कारोबार नै धराशायी बनाईदिन्छ ।

भारतीय अर्बपति घरानाका मुकेश अम्बानीको जियो (टेलिकम) लगायतका विभिन्न उत्पादन सोझै उपभोक्ता समक्ष पुर्याउन अनलाईन बजारीकरण आवश्यक भैसकेको छ । भने ई-कमर्श सञ्चालनमा विभिन्न स्थानमा कम्पनीका आउटलेट नराखी आस लाग्दो मुनाफा कमाउन सकिने क्रमलाई पछ्याउँदै अम्बानी समुह अनलाईन बजारीकरण प्रवेश तयारीमा जुटेका छन् ।

बहुराष्ट्रिय अनलाइन कम्पनीहरु भारतीय बजार प्रवेश पछिको असर त्यहाँका पसलेको बिक्रीमा प्रत्यक्ष असर पर्न थाले पछि ती कम्पनीका व्यवसायीक कार्यमा नियन्त्रण सहित ई-कमर्श वाणिज्य नीति लिइएको छ । भारत सरकारले सन २०१९ फेब्रुअरी १ देखि लागु हुने गरी ई-कमर्स साइट सञ्चालन गर्न कम्पनी मातहतका उत्पादन बिक्रिमा २५ प्रतिशतको सिमा तोकिएको छ । ती कम्पनी प्रत्यक्ष संलग्न भएका उत्पादन त्यहि अनलाइन साइटबाट बिक्रीमा पूर्ण बन्देज लगाईएको छ । त्यस्तै अन्य वस्तु बिक्रीका लागि पनि बेग्लै कम्पनी स्थापना गर्नुपर्ने छ ।

नेपालमा समेत ई-कमर्श साइटको वर्चस्व विस्तार हुने क्रममा छ । त्यसो त नेपाली अनलाइन सपिङ मध्ये दराज डट कमको बजार हिस्सा उच्च हुँदै गएको छ । तर चिनिया अनलाइन अग्रणी कम्पनी अलिबाबा जर्मन नेतृत्वका रकेट इन्टरनेट मार्फत सञ्चानलमा आएको दराज डट कम को ९५ प्रतिशत शेयर खरिद गरी नेपाली बजार प्रवेश गर्न सफल भएको छ । अबका दिनमा नेपालका साना स्तरमा सञ्चालित अनलाइन साइट मूल्य प्रतिस्पर्धा गर्न नसकी बन्द हुने स्थितिमा पुग्ने निश्चित छ । नेपालमा समेत पसलेहरूको बिक्रीमा प्रत्यक्ष असर पुग्ने क्रम दोहोरिन सक्छ । तर जबसम्म नेपाली बस्तु ब्राण्डको विकास तीव्र हुँदैन स्थानीय बजारमा विदेशी ब्राण्डले मजा लुटिरहन्छ ।