कृषिबाहेकका क्षेत्रमा थोरैले पाए सहुलियत ऋण

  २०७६ वैशाख १३ गते ८:३६     विकासन्युज

काठमाडौँ । सहुलियतपूर्ण कर्जाका लागि सरकारले ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याए पनि कृषिबाहेकका क्षेत्रमा थोरैले ऋण पाएका छन् । बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा रुचि नदेखाएको र कार्यक्रमबारे धेरैलाई जानकारी नभएकाले पर्याप्त कर्जा प्रवाह हुन नसकेको जानकार बताउँछन् ।

पछिल्ला चार महिनामा १२३ जनाले ५ करोड १४ लाख रुपैयाँ मात्र कृषिबाहेकका क्षेत्रमा सहुलियत ऋण पाएका छन् । अपेक्षाअनुसार ऋण प्रवाह नभएपछि कृषि, ऊर्जा र पर्यटनमा जस्तै सहुलियतपूर्ण कर्जामा पनि सीमा तोक्ने विषयमा छलफल सुरु भएको छ ।

‘कसै गरे पनि बैंकहरूले चासो देखाएनन्,’ स्रोतले भन्यो, ‘अब सीमा नै नतोकि नहोला जस्तो छ ।’ सरकारले ठूलो उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएकाले त्यसलाई सफल बनाउन पनि सीमा तोक्नुपर्ने देखिएको राष्ट्र बैंककै एक उच्च अधिकारीले बताए ।

‘बैंकहरूको चाल हेर्दा यो पनि भूकम्पपीडितका लागि २ प्रतिशत ब्याजदरको ऋण जस्तै हुने देखियो,’ ती अधिकारीले भने, ‘थोरैले पाउने, पाउनेमा पनि पहुँचवाला र नातागोता मात्र ।’ विगतमा जस्तो सामान्य निर्देशनकै भरमा बैंकले पूर्ण रूपमा नीति पालना गर्लान् भन्ने अवस्था अहिले नभएको उनले बताए ।

राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । कार्यविधिमा व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्चर प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा गरी सात किसिमको कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था ल्याएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.