बन्चरे डाँडामा ल्याण्डफिल निर्माण शुरु, २० वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने

  २०७६ वैशाख १२ गते १७:४५     विकासन्युज

काठमाडौं । नुवाकोट र धादिङ्गको सिमाना पर्ने बन्चरे डाडामा ल्याण्डफिल साइट निर्माण शुरु भएको छ । बिहिबार शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले साइटको शुभारम्भ गरे ।

हाल डम्पिङ साइट बनिरहेको सिस्डोल आलेटारमा फोहोर नअट्ने भएपछि बन्चरे डाँडामा ल्याण्डफिल निर्माणको काम सुरु गरेको हो । डम्पिङ साइट निर्माणका लागि सरकारले १७ सय रोपनी जग्गा व्यवस्थापन गरिसकेको छ । ल्याण्डफिल निर्माणको लागि कोसी न्यौपाने एण्ड लुम्बिनी जेभीलाई जिम्मा दिइएको छ ।

भ्याट बाहेक ३४ करोड रुपैंयाको लागतमा ल्यान्डफिल १ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ल्याण्डफिलमा उपत्यकाका तीन जिल्लाको फोहोरो २० वर्ष सम्म व्यवस्थापन गर्न सकिने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । गेलालका अनुसार अबको केहि महिनाबाटै बन्चेरे डाडामा फोहोर व्यवस्थापनको कार्य सुरु हुनेछ ।

सिस्डोड आलेटारदेखि बन्चरे डाँडासम्म ३ किलोमिटर सडक निर्माण सडक विभागले गरेको हो । उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपवेस्ट कम्पनीसँग लगानी बोर्डको सम्झौता हुन नसक्दा तत्कालै फोहोर व्यवस्थापनको लागि बन्चरे डाँडा आवश्यक भएको हो ।

ल्याण्डफिलको उद्घाटन गर्दै मन्त्री राईले बन्चरे डाँडामा विगतमा जस्तो डम्पिङ साइट नबन्ने दाबी गरे । उनले यो वातावरणमैत्री ल्याण्फिल साइट बन्ने बताए । ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन सुरु भएपछि दैनिक बेलुका माटो हालेर पुर्ने र विभिन्न केमिकलहरुको प्रयोग गरिनेछ, मन्त्री राईले भने-हामी ल्याण्डफिल साइटलाई सकेसम्म वातावरण मैत्री बनाउने छौं ।

उपत्यकाको फोहोर व्यवस्थापनको लागि हाल लगानी बोर्ड र नेपवेस्ट कम्पनीबीच छलफल भैरहेको छ । प्रारम्भिक चरणमा छलफल भैसकेके पनि अन्तिम सम्झौता हुन बाँकी रहेको छ । यदि नेपवेस्ट कम्पनीले आलेटारमा प्लान्ट राखेर फोहोर व्यवस्थापन सुरु गर्यो भने ८० प्रतिशत फोहोर खपत प्लान्टले गर्नेछ । प्लान्टका लागि ७४ रोपनी जग्गा सरकारले कम्पनीलाई उपलब्ध गराउने छ ।

स्थानीय वासिन्दाले भने ल्याण्डफिल साइट बन्नेमामा आशंका व्यक्त गरेका छन् । आलेटार र सिस्डोलमा पनि पहिले प्रशोधन केन्द्र स्थापना गर्ने भनेर हालसम्म सरकारले फोहोर थुपारेको आरोप लगाए । स्थानीयवासी भिमसेन न्यौपानेले ल्याण्डफिल साइट वातावरणमैत्री नबन्दा जनमानसमा यसको ठूलो असर पर्ने बताए । न्यौपानेले विगतदेखि नै फोहोर प्रभावित क्षेत्रको वासिन्दाले विभन्न समस्या झेल्दै आएकोले अब बन्ने ल्याण्डफिल साइट प्रदुषण मैत्री हुनुपर्नेमा जोड दिए ।

नेपवेस्ट कम्पनीले यसरी गर्नेछ फोहोर व्यवस्थापन

कम्पनीले कुल ६ अर्बको लगानीमा पहिलो चरणमा फोहोर संकलन प्रणालीमा सुधार, फोहोरमा काम गर्ने कामदारको व्यवस्थापन र प्राकृतिक ग्याँस उत्पादन गर्नेछ । दोस्रो चरणमा कम्पनीले फोहोर मैलाको प्रयोग गरी प्राङगारीक मल, बायोग्याँस र विद्युत उत्पादन गर्नेछ । कम्पनीले उपत्यकाको घर, उद्योगबाट निस्कने फोहोर संकलन  र मेडिकलबाट  निस्कने फोहोर छुट्याई उपयोग गर्नेछ । यसरी बचेको अन्तिम फोहोरलाई ल्याण्डफिल साइटमा बिर्सजन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.