६० अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बको सेयर कारोबार

  २०७६ वैशाख १२ गते १६:२०     विकासन्युज

साताभरको नेप्से चार्ट

काठमाडौं । सातामा नेप्से परिसूचक ६० अंकले उकालो लागेको छ । यस साताको पहिलो दिन १२३२.२६ अंकदेखि कारोबार शुरु भएको नेप्से अन्तिम दिन अर्थात बिहीबार १२९२.१२ अंकमा पुगेको हो । जुन गत बिहीबारको तुलनामा ५९.८६ अंक बढी हो ।

गत साताको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उत्कृष्ट सुधार भएको छ । यस साता नेप्सेमा करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । कुल ५ दिन कारोबार भएको बजारमा बिहीबार सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार मात्रै कूल १७६ कम्पनीको एक अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो अवधिमा अधिकांश वाणिज्य बैंकहरुको बढी कारोबार भएको छ । बिहीबार पनि उत्कृष्ट कारोबार गर्ने १० कम्पनी मध्ये ९ वटा वाणिज्य बैंक रहेको छन् । सबैभन्दा बढी नेपाल बैंकको १८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

पछिल्लो समय ठूला बैंकहरु बिग मर्जरमा जाने हल्लाले सेयर बजारमा वाणिज्य बैंकहरुको बढी कारोबार भएको देखिन्छ । साथै, बजारमा स्थापित बैंकहरुको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ सस्तो भएकाले लगानीकर्ताहरु ती कम्पनीको सेयरमा आकर्षित भएका हुन् ।

नयाँ वर्ष लागेयता सेयर बजारमा पनि नयाँ उमंग छाएको छ । नयाँ वर्ष २०७६ साल शुरु भएपछि हालसम्ममा नेप्से १०८ अंकले बढेको छ । यस साता ६० अंकले बढेको नेप्से गत साता मात्रै ४८ अंकले बढेको थियो । दुई सातामा कुल ९ दिन कारोबार भएको बजारमा जम्मा एकदिन मात्रै नेप्से सामान्य अंकले घटेको थियो भने बाँकी ८ दिन निरन्तर दोहोरो अंकले उकालो लागेको छ ।

सेयर दुई हप्तासम्म निरन्तर बढ्नुले २०७६ साल सेयर बजारलाई एकदमै राम्रो देखिएको छ । जसले गर्दा २०७५ को अन्त्य तिर नेप्से निरन्तर ओरालो लागेर निराश भएका लगानीकर्ताहरुमा खुसी छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.