विनोद कुमार र मधु चौधरीले भारतबाट ल्याए २३ करोड कालाेधन, ४६ कराेड दावीसहित विशेष अदालतमा मुद्दा

  २०७६ वैशाख १२ गते १५:४४     विकासन्युज

काठमाडौं । भारतीय नागरिकले नेपालीसँग मिलेर कसरी कालोधन सेतो बनाउँछन् भन्ने एउटा उदाहरण सार्वजनिक भएको छ । सम्पत्ति शुद्धिकरण विभागका अनुसार भारतीय नागरिक विनोद कुमरा गुप्ता र हिमालयन कार्गोका प्रोप्राइटर मधु कुमारी चौधरीले भारतीय नागरिक विरेन्द्र महतो समेतको मिलेमतोमा २३ करोड ९४ लाख ६८ हजार १३३ रुपैयाँ कालोधनलाई सेतो बनाएको पाइएको छ । विभागले कालोधान कारोबारीसँग ४५ करोड ९० लाख ९८ हजा ४०० रुपैयाँ असुल गर्न मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

हिमालयन कार्गो नेपाल (स्थायी लेखा नम्बर ३०१७९७८६३) र मधु कुमारी चौधरीको नाममा दर्ता रहेको हिमालयन कार्गो (स्थायी लेखा नम्बर ६०४८६०४७५) फर्मका प्रोपाइटर मधु कुमारी चौधरीका पति भारतीय नागरिक विनोद कुमार गुप्ता समेतले आ.व. २०६५÷६६ देखि आ.व. २०७४÷७५ सम्म राजश्व चुहाबट गरी निजको मधु कुमारी चौधरी समेतका नाउँमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धमा अनुसन्धान तथा छानवीन गर्ने राजश्व अनुसन्धान विभागले गरेको सिफारिसका आधारमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरेको थियो ।

विनोद कुमार गुप्ता र निजकी श्रीमती मधु कुमारी चौधरी समेतले प्रतिवादी भारतीय नागरिक विरेन्द्र महतो समेतको मिलेमतोमा २३ करोड ९५ लाख ६८ हजार १३१ रुपैयाँ गैरकानूनी स्रोतबाट आर्जन गरेको विभागको ठहर छ ।

यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति मध्ये खाताहरुमा कुल रु. १० करोड १० लाख २० हजार ९४१ रुपैयाँ उनीहरुले आफु एवं फर्मका कर्मचारी समेतका नाउँमा विभिन्न बैँकमा खोलिएका खातामाई लुकाई छिपाइ राखेको भेटिएको छ ।

त्यस्तै, काठमाडौँका र भक्तपुरका विभिन्न स्थानहरुमा २०६५ सालपछिको अवधिमा ८ करोड ३० लाख ३० हजार ८०० घरजग्गामा लगानी गरेको पाइएको छ । मधुकुमारी चौधरी एकल संचालक रहेको मंगला रियलस्टेट प्रा.लि.मा २ दुई करोड, एप्पल पोलिमर्स प्रा.लिको नाममा २ करोड ५० लाख लगानी गरेको देखिएको, मधुकुमारी चौधरीका नाउँमा रहेको विभिन्न बैँक तथा वित्तीय संस्थाको शेयरतर्फ ४ लाख ९७ हजार ४५९ लगानी गरी सम्पत्ती शुद्धीकरण (मनि लाउण्डरिङ) गरेको विभागको निष्कर्ष छ ।

विभागले सम्पत्ती शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार गैरकानुनी सम्पत्तिहरु विनोद कुमार गुप्ता र मधु कुमारी चौधरीले २२ करोड ९५ लाख ४९ हजार २०० रुपैयाँ गैरकानुनी आर्जन गरेको निष्कर्ष सहित जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय हुन मागदाबी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागले बैशाख ११ मा विशेष अदालत काठमाडौँमा उक्त मुद्दा दर्ता गरेको हो ।

साथै, विभागले गैरकानुनी सम्पत्तिबाट बढे बढाएको सम्पत्ति, शेयर, बैंकमा रहेको नगद मौज्दात रकम समेत सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन (दोस्रो संशोधन), २०६४ को दफा २८(२) र दफा ३४(१) बमोजिम जफत हुन मागदाबी लिई र अर्का प्रतिवादी विरेन्द्र महतोको हकमा कुल विगो २२ करोड ९५ लाख ४९ हजार २०० रुपैयाँ जफत र कानुन अनुसार जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.