आकाशियो तरकारीको भाउ, २१७ प्रतिशतसम्म महँगो

  २०७६ वैशाख १२ गते ८:५६     विकासन्युज

काठमाडौँ । पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाउ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो । उपत्यकावासीको मागअनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भाउ महँगो भएको हो ।

बजारमा बिक्रीका लागि आएका तरकारीको गुणस्तर पनि राम्रो छैन । कङ्लकीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्न आउनुभएकी कल्पना सापकोटाले महँगो पैसा तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गरे । उनीसँगै बजारमा भेटिनुभएकी कङ्लकीकै नम्रता क्षेत्रीले बजार घुमिसक्दा पनि कुन तरकारी किन्ने भन्ने अलमलमा परेर एउटा सागको मुठा लिएर निस्किए । उनीहरूले एकै स्वरमा भने, तरकारीको मूल्य छोइसाध्ये छैन, मुला ६० रुपियाँ केजी छ, त्यति महँगो तरकारी त्यही पनि गुणस्तरीय छैनन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ महिनामा प्रतिकेजी १२ रुपियाँ थोक मूल्यमा कारोबार भएको सेतो मुला वैशाखको दोस्रो सातामा मूल्य बढेर प्रतिकेजी ३८ रुपियाँ थोकमै पुगेको छ ।

जुन मूल्य माघ महिनाको भन्दा यो वैशाखमा २१७ प्रतिशत धेरै हो । यस्तै सो अवधिमा सानो गोलभेँडा प्रतिकेजी १८ रुपियाँमा कारोबार भएकोमा अहिले बढेर ४० रुपियाँ प्रतिकेजी थोकमै कारोबार भइरहेको छ ।

कालीमाटीकी खुद्रा व्यापारी शर्मिला खड्काको अनुभवमा यसपटक गएको फागुनदेखि आएको असिना पानीले ठाउँ–ठाउँको तरकारी बालीमा ठूलो क्षति पुर्याएको र त्यसको प्रभाव तरकारीको भाउमा देखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.