९ करोड ९८ लाखमा बनेको विद्यालय भवन प्रधानमन्त्री ओलीले गरे उद्घाटन

  २०७६ वैशाख ११ गते १९:३६     विकासन्युज


काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा पुनर्निर्माण गरिएका तीनवटा भवनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्निर्माण गरिएका भवनहरुको अवलोकन पनि गरे ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)बाट भवनहरु पुनर्निर्माण गरिएको हो । सुविधा सम्पन्न भवनहरुको पुनर्निर्माण लागत ९ करोड ९८ लाख रुपैयाँ रहेको छ । उद्घाटनपछि ती विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रतिरोधी संरचना सहित सुविधा सम्पन्न विद्यालय बनेकोमा खुशी व्यक्त गरे । उनले पुनर्निर्माणले गति लिएको भन्दै भूकम्पबाट क्षति भएका बाँकी संरचनाहरुको पनि पुनर्निर्माण गर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुनर्निर्माणपछि विद्यालयको भौतिक संरचना राम्रो भएको भन्दै शिक्षाको गुणस्तर वृद्धिमा पनि विशेष ध्यान दिनु पर्ने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न विद्यालय पुनर्निर्माणले अझ राम्रो र बलियो भन्ने नारा साकार हुँदै गएको बताए । उनले विद्यालयहरु नमूनाका रुपमा पुनर्निर्माण भइरहेको भन्दै पुनर्निर्माण भइरहेका विद्यालयहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न लागिपरेको बताए ।

कार्यक्रममा एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर मुख्तर खामुदखानोभ, धुलिखेल महानगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु लगायतले धारणा व्यक्त गरे । सो अवसरमा विद्यालय पुनर्निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.