खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध

  २०७६ वैशाख ११ गते १६:२५     विकासन्युज

हेटौँडा । मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौँडाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको टोलीले दिएको प्रतिवेदनको आधारमा सो निर्देशिका कार्यान्वयन गर्न लागेको हो ।

निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारीलगायत प्याकेजिङमा उल्लेखित दूधमात्र बिक्री वितरण गर्न पाइने व्यवस्था उल्लेख छ । निर्देशिका २०७५ कार्यान्वयनमा आएपछि खुला तथा प्लाष्टिकमा राखी रबरले बाँधेर प्याक गरेको दूध बिक्री गर्न नपाइने प्रशासनले जनाएको छ ।

सरकारले गत असोज ४ गते निर्देशिका पारित गरेको थियो भने गत चैत ४ गतेबाट नै लागू हुने सो निर्देशिका मकवानपुर जिल्लामा विभिन्न कारणले लागू हुन नसकेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको भनाइ छ ।

यस सम्बन्धमा दुग्ध विकास संस्थान, दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवसँग निर्देशिकाबारे बुझ्दा निर्देशिका लागू भएमा किसानले उत्पादन गरेको दूध बाह्रै महीना खरीद गर्न सकिने र किसानलाई फाइदा हुनुका साथै विचौलियाबाट मुक्त हुने बताए ।

किसानले पाउने मूल्य र उपभोक्ताले खरीद गर्ने खुला दूधको मूल्यबीच ४० प्रतिशतभन्दा बढी फरक देखिएको र अन्य व्यक्तिले फाइदा लिएको स्वयं किसानको गुनासो छ । यो जिल्लामा आधा दर्जन डेरी उद्योग सञ्चालनमा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.