परिसंघका पदाधिकारीलाई उद्योग मन्त्रीको स्वागत, ‘देशमा लगानीको वातावरण बन्दै’

  २०७६ वैशाख १० गते १५:२२     विकासन्युज

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्य समितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गरेका छन् । सो अवसरमा मन्त्री यादवले वर्तमान सरकारको लक्ष्य नै दीगो आर्थिक विकास तथा समृद्धि रहेको बताउँदै नवगठित कार्य समितिले समेत यसलाई आत्मसात गरी आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे ।

देशमा लगानीको वातावरण बन्दै गएको, वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरु आईरहेको परिप्रेक्ष्यमा परिसंघले आफ्ना आगामी कार्यक्रमहरु मार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढङ्गमा पु¥याउन सहयोग गर्नु पर्नेमा मन्त्री यादवको जोड थियो ।

सोही अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकोले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकार पछि नपर्ने कुरा व्यक्त गरे ।

सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नयाँ औद्योगिक क्षेत्रहरुको सञ्चालन निजी क्षेत्रलाई गर्न दिन सकिने सम्भावना रहेको भन्दै यस तर्फ समेत निजी क्षेत्रको ध्यानाकृष्ट गरेका थिए । दुर्गम क्षेत्रमा स्थापना भएका उद्योगहरुको पूर्वाधार निर्माणमा सरकारबाट ढिलाई भएको भए त्यस्ता पूर्वाधारहरु निजी क्षेत्र आफैले निर्माण गर्न चाहे सरकारले वित्तीय/प्राविधिक सहयोग गर्ने सोच समेत बनाई रहेको उनले जानकारी दिए ।

स्वागत तथा बधाई कार्यक्रममा परिसंघका नव नियुक्त अध्यक्ष सतिशकुमार मोरले विगत देखिनै परिसंघले सरकारसँग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझावहरु दिंदै आएको र आगामी दिनहरुमा समेत यस्तो कार्य निरन्तर रहने कुरा व्यक्त गरे ।

सरकारले उद्योगमैत्री नीति लिएको, छोटो समयमा नै उद्योगसँग सम्बन्धित धेरै कानून परिमार्जन गरेकोले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको कुरा व्यक्त गरे । सरकार आगामी बजेटको तर्जुमामा लागेकोले उद्योगीहरुको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भएकोले उद्योगीहरुको तर्फबाट नयाँ वजेटसँगै नयाँ जोस तथा स्फूर्ति ल्याउने खालको लगानीमैत्री बजेट आउने अपेक्षा रहेको बताए ।

सो कार्यक्रममा परिसंघका पदाधिकारी, गभर्निङ काउन्सिलका सदस्य लगायत राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.