काठमाडौँ-दिल्ली भाडा बढ्यो, बिरामीलाई दिल्ली दूर !

  २०७६ वैशाख १० गते ८:२७     विकासन्युज

काठमाडौँ । नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत भक्तपुरका डिल्ली भट्टराई दिल्ली–काठमाडौं सिधा उडानबाटै घर फिर्ने योजनामा थिए । हवाई भाडामा अचाक्ली बढेपछि उनी अहिले विकल्प खोज्दै छन् ।

६ महिना लामो उपचारपछि तग्रिंदै गरेका उनमा काठमाडौं–दिल्ली बसबाट यात्रा गर्ने आँट छैन । ‘भाडा चर्को रहिरह्यो भने ट्रेनमा गोरखपुरसम्म जान्छु । त्यसपछि भैरहवाबाट जहाजमा जान्छु,’ उनले भने, ‘क्यान्सर रोगीहरूलाई भारतीय रेल्वेले पुरै भाडा छुट दिँदो रहेछ ।’

भक्तपुर कमलविनायकका पुण्य राम पनि त्यस्तै दोधारमा छन् । श्रीमती राधाको उपचारका लागि दिल्ली आएका उनले यही साता काठमाडौं जाने योजना बनाएका थिए । जब हवाई भाडा बढेर एकतर्फी नै १८ हजार भारुभन्दा बढी भएको थाहा पाए, उनी के गर्ने भनेर द्विविधामा छन् । ‘केही दिनका लागि भए पनि जानैपर्ने थियो । तर अहिलेको भाडामा कसरी जाने रु’ रामले भने । बसमा जान सकिन्छ कि भनेर सोधपुछ गरिरहेको उनले बताए । ‘म त बसमा जान सकूँला, बिरामीलाई त्यति लामो बाटो कसरी लाने ?’ रामले चिन्ता व्यक्त गरे ।

हवाई भाडा महँगिएपछि भट्टराई र रामजस्ता उपचारका लागि दिल्ली आएका थुप्रै नेपाली समस्यामा परेका छन् । क्यान्सर, कलेजो र मिर्गौलासम्बन्धी रोगको उपचारका लागि बर्सेनि हजारौं नेपाली दिल्ली धाउने गर्छन् । हरियाणाको मेदान्त र दिल्लीका राजीव गान्धी, अपोलो, म्याक्स, गंगाराम, एम्स, बीएलके अस्पतालमा नेपाली बिरामीको भीड हुन्छ ।

हवाई टिकटमा भएको अत्यधिक वृद्धिले विशेषगरी काठमाडौं र आसपासका क्षेत्रबाट दिल्ली आउनेहरूलाई बढी समस्या परेको छ । पोखराका एक युवा विगत एक महिनादेखि आमाको पित्तथैलीको क्यान्सरको उपचारका लागि दिल्लीमा थिए । चिकित्सकले पन्ध्र दिनपछि आउन भनेकाले उनले दिल्लीमा बस्नुभन्दा घर पुग्ने निधो गरे । हवाई टिकट खोज्न थाले ।

‘हवाई भाडा सुन्दा सुरुमा पत्यारै लागेन,’ उनले भने, ‘दिल्ली आउँदा आमा र मेरा लागि २४ हजार रुपैयाँ मात्र तिरेको थिएँ । अहिले ३३ हजार भारु (करिब ५३ हजार) पर्ने रहेछ ।’ उनले आमाको स्वास्थ्यका कारण दोब्बर महँगो भए पनि प्लेनबाट जाने निधो गरेको सुनाए ।

हवाई भाडा एकाएक वृद्धि हुनुमा भारतीय निजी विमान सेवा कम्पनी जेट एयरवेजको उडान स्थगितलाई ठानिएको छ । वित्तीय संकटका कारण भारतको सबैभन्दा ठूलो निजी वायुसेवा कम्पनी जेट एयरवेजका सबै उडान गत सातादेखि स्थगित भएका छन् । त्यसअघि कम्पनीले दिल्ली–काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो ।

जेटको उडान स्थगितपछि हवाई टिकटको माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएकाले पर्यटकीय सिजनले महँगिँदै गएको दिल्ली–काठमाडौं हवाई भाडामाथि थप चाप परेको हो । एक महिनाअघिसम्म दिल्ली–काठमाडौं न्यूनतम हवाई भाडा करिब पाँच हजार भारु रहेकामा अहिले बढेर १८ हजार भारु नाघेको छ । कतिपय कम्पनीहरूको भाडा ३० हजारभन्दा बढी छ । अन्य विमानको तुलनामा नेपाल वायुसेवा निगमको भाडा कम छ । आगामी बुधबार निगमको दिल्ली–काडमाडौंको भाडा १८ हजार ७ सय रुपैयाँ रहेकोमा इन्डिगोको २५ हजार र एयर इन्डियाको ३२ हजार छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.