एक साता नबित्दै कालोपत्रे सडकमा घाँस उम्रियो, अख्तियारद्वारा अनुसन्धान शुरु

  २०७६ वैशाख १० गते ८:११     विकासन्युज


काठमाडौँ । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो ।

कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडकसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।

निरीक्षण गर्दा कालोपत्रे सडकमै घाँस उम्रिएको देखिएको अख्तियारको क्षेत्रीय कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले बताए । चेकजाँचका लागि केही कागजात नियन्त्रणमा लिइएको र उपमहानगरसँग थप कागजात माग गरिएको उनले जानकारी दिए ।

निरीक्षणमा गएको दिन उपमहानगरका लेखा अधिकृत बिदामा रहेकाले उपलब्ध हुन नसकेका निर्माण सम्झौतापत्र, बिल भुक्तानी माग गरिएको सूचना अधिकारी विष्टले बताए । ‘कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । सडकमै घाँस उम्रिएकाले यसको गुणस्तर हेर्न आयोगले प्राविधिक टोली खटाउँदै छ,’ उनले भने । अख्तियार टोलीले धनगढी उपमहानगरपालिका र निर्माण कम्पनीसँग कालोपत्रे सडकबारे सोधपुछ पनि गरेको जनाएको छ ।

सात सय २६ मिटर लामो यो सडक केएस टेडी जेभीले केही दिनअघि कालोपत्रे गरेको हो । धनगढी चौराहानजिक ११० मिटर लामो एनडी पथ र सद्भावना मार्ग एउटै प्याकेजमा राखेर भ्याटबाहेक एक करोड २१ लाख रूपैयाँमा निर्माण भएको हो । दुवै प्याकेज एउटैमा रहेको भन्दै उपमहानगरले सद्भावना मार्गमा मात्र खर्चिएको बजेट खुलाएको छैन । उपमहानगरका इन्जिनियर कमलराज ओझाका अनुसार सडकको दुवैतिरको नाली गत वर्ष नै उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । नालीसम्मै सडक कालोपत्रे गर्ने सम्झौता रहेको उनले बताए । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.