सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छः सांसद त्रिपाठी

  २०७६ वैशाख ९ गते १६:१९     विकासन्युज


काठमाडौं । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् । उनले भने,‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्छ ।’

सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै त्रिपाठीले यस्तो माग गरेका हुन् । उनले भने,‘चिनी मिलहरु डेढ महिना ढिलो चलेको र अहिले केही मिलहरु बन्द छन् । यसको प्रत्यक्ष असर उखु किसानहरुलाई परेको छ । सर्लाहीमा २ र नवलपरासीमा एउटा मिल बन्द भएको छ । नवलपरासीमा मात्रै झण्डै तीन लाख क्विन्टल उखु खेतमै छ । उता सर्लाहीमा पनि चार लाख क्विन्टल जति उखु खेतमै छ ।’

सरकारको अकर्मण्यताका कारण उखु किसानहरुले खेतमै उखु आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनको आरोप छ । उनले भने,‘चिनी मिल सञ्चालकहरुले डेढ महिना ढिलो मिल सञ्चालन गर्दापनि यो सरकार मुकदर्शक भएर बस्यो, मिल सञ्चालकहरुमाथि कुनै हस्तक्षेप गर्न सकेन् । जसको कारण आज किसानहरु ठूलो मारमा परेका छन् ।’

किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदापनि सरकारले केही गर्न नसकेको उनको आक्रोश छ ।उनले भने,‘यस्तो अवस्थामा अब किसानको खेतमा बाँकी रहेको उखु हेरेर ७० प्रतिशत अनुदान सरकारले दिनुपर्छ । र, ढिलो मिल चलाएको कारण मिल सञ्चालकहरुले पनि ३० प्रतिशत अनुदान दिनुपर्छ ।’ उनले नयाँ बजेट बन्ने प्रक्रियामा रहेको सुनाउँदै यो माग बजेट बन्नुपुर्व नै व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.